२१ भदौं, काठमाडौं । आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार एकीकृत रूपमा स्वास्थ्य बीमा प्रणालीमार्फत पाउने भएका छन्।
हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले छुट्टाछुट्टै कार्यक्रममार्फत सुविधा पाउँदै आएका भए पनि अब यी सबै उपचार सुविधा एकद्वार प्रणालीमार्फत उपलब्ध हुने भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ ९पहिलो संशोधन २०८२० स्वीकृत गर्दै सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअन्तर्गत विपन्न नागरिकले पाउँदै आएको सम्पूर्ण उपचार खर्चको भुक्तानी अब बीमा प्रणालीमै हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हाल सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने बताए। उनले भने, “हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भन्ने उद्देश्यले आउँदो असोज मसान्तभित्र बीमा दर्ता भइसक्न अनुरोध गरिएको छ।”
उनका अनुसार नयाँ व्यवस्थाले विखण्डित कार्यक्रमलाई एकीकृत गर्दै राज्यको स्रोतको प्रभावकारी उपयोग हुने अपेक्षा गरिएको छ। यसका लागि मन्त्रालयले स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई हालका सेवाग्राहीलाई असोज मसान्तभित्र बीमामा दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend