सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्मचारी वर्गले सुशासन कायम गर्ने जिम्मेवारी बहन गर्नुपर्छः देउवा

कर्मचारी वर्गले सुशासन कायम गर्ने जिम्मेवारी बहन गर्नुपर्छः देउवा

 

१९ भदौं,काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सुशासन कायम गर्न कर्मचारी वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै देउवाले सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाउन कर्मचारी वर्गको काँधमा गहन जिम्मेवारी रहेको उल्लेख गरे ।

उनले लोकतान्त्रिक परिवर्तनको भावना अनुरूप समयसापेक्ष सुधार आवश्यक भएको बताउँदै सबल र सक्षम निजामती सेवा निर्माणमा ट्रेड युनियनको भूमिका अपरिहार्य हुने धारणा राखे । देउवाले भने, “विगतका कमजोरीलाई सुधार गरेर सरकारले दिने सेवा चुस्त र दुरुस्त बनाउन तपाईंहरू सक्रिय हुनुपर्छ ।”

काँग्रेस सभापति देउवाले युनियनलाई राष्ट्र सेवक कर्मचारीहरूको अभिभावकको रूपमा रहनुपर्ने आवश्यकता औंल्याउँदै, मुलुककै ठूलो लोकतान्त्रिक पार्टीको शुभेच्छुक संस्था भएकाले यसको नीति निर्माणमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।

शासकीय क्षमता अभिवृद्धि गर्न राज्यका नीतिहरूमा छलफल र बहस गर्न युनियनले रचनात्मक योगदान पुर्‍याउनुपर्ने उनले बताए । “इमानदार र कर्तव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन्छ,” उनले थपे । स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा दक्ष, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा युनियनले बलियो उपस्थिति जनाउनुपर्ने उनले जोड दिए ।

देउवाले कर्मचारीका आधारभूत समस्यामा सरकारको ध्यान जाने आश्वासन दिँदै आफू र आफ्नो पार्टी सदैव सहयोगी रहने प्रतिबद्धता जनाए । नेपालमा लोकतान्त्रिक आन्दोलनका प्रत्येक चरणमा कर्मचारी युनियनको अग्रणी भूमिका रहेको स्मरण गर्दै उनले निजामती सेवा ऐन, २०६४ जारी गराउन युनियनको योगदान विशेष स्मरणीय रहेको बताए ।

सो अवसरमा युनियनका कार्यवाहक अध्यक्ष उत्तम कुमार कटुवालले निजामती सेवा प्रवाहलाई चुस्त, प्रभावकारी बनाउन तथा सुशासन प्रवर्द्धनमा ट्रेड युनियनको सक्रियता रहने बताए । उनले सङ्घीय निजामती सेवा विधेयकमा रहेका कमजोरी सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

युनियनका निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायत महत्त्वपूर्ण निकायमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति बलियो हुन नसकेको टिप्पणी गरे ।

कार्यक्रममा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ पुस्तक विमोचन गरे । साथै, युनियनका निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मी लगायत विभिन्न ४२ व्यक्तित्वलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend