सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दशैं–तिहार लक्षित बजार अनुगमन तिव्र पारिने, अखाद्य वस्तु बेच्ने व्यापारी कारवाहीमा पर्ने

दशैं–तिहार लक्षित बजार अनुगमन तिव्र पारिने, अखाद्य वस्तु बेच्ने व्यापारी कारवाहीमा पर्ने

 

१८ भदौ, काठमाडौं । दशैं र तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई थप कडाइ गर्ने भएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बजारमा अखाद्य र म्याद गुज्रिएका सामग्री बिक्री गर्ने व्यापारीलाई कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी दिनु भएको छ ।

“अहिले पनि हाम्रो टिम बजारमै खटिएको छ । अब भने अझ ठूलो टोली पठाएर अनुगमनलाई तिव्रता दिनेछौं,” उहाँले खबरब्रेकिंग डटकम सँगको छोटो कुराकानीमा भन्नुभयो । महर्जनका अनुसार मेला–पर्वको समयमा व्यापारीहरूले मनपरी मूल्यवृद्धि गर्ने, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने प्रवृत्ति बढ्ने भएकाले यसपटक विभाग थप सतर्क रहनेछ ।

प्रवक्ता महर्जनले सरोकारवाला सबै निकायसँग समन्वय गरेर चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन पहल भइरहेको जानकारी दिनुभयो । “व्यापारीहरूले पर्वको नाममा उपभोक्तामाथि नाजायज नाफा कमाउने प्रयास गर्छन्, तर त्यस्ता व्यापारीलाई यसपटक सजिलै छोडिँदैन,” उहाँले चेतावनी दिनुभयो ।

उहाँका अनुसार उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजारमा गुणस्तरीय र सुरक्षित खाद्य वस्तु उपलब्ध गराउन विभागले निरन्तर अनुगमनलाई प्राथमिकता दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend