१७ भदौ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नमुना बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नगरपालिका–९ शिवसुन्दर टोल सुधार सेवा समाजको सातौँ वार्षिक साधारण सभामा मेयर कार्कीले खानेपानीलाई प्राथमिकतामा राख्दै चालु आवमै सबै टोलमा पानी पुर्याउने योजना अघि सारिएको जानकारी दिए ।
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर बढाउन नगरले विशेष कार्यक्रम अघि सारेको बताउँदै उनले निजी अस्पताल सरह सुविधा दिने गरी विशेषज्ञ चिकित्सकसहितको अस्पताल सञ्चालन भइरहेको बताए । स्वास्थ्य बीमा विस्तारमा स्थानीय टोल समाजको सहकार्य अपरिहार्य भएको उनको भनाइ थियो ।
उद्यमशीलता र स्टार्टअप प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने योजनामा रहेको मेयर कार्कीले नगरपालिकाले ल्याएका कार्यक्रम सफल बनाउन टोल समाजलाई सक्रिय सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मान गरिएको थियो । यसै अवसरमा करिब २७ जनालाई आजीवन सदस्यता प्रदान गरिएको समाजका अध्यक्ष रणबहादुर कार्कीले जानकारी दिए ।
साधारण सभामा विभिन्न टोल समाजका प्रतिनिधिहरूले शुभकामना मन्तव्यसहित खानेपानी, स्वच्छता, शिक्षा, सीपमूलक तालिम, सूचना प्रविधि र उत्तरदायित्वमा ध्यान दिन सुझाव दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend