बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाको ३ घण्टा भेटवार्ता ?

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाको ३ घण्टा भेटवार्ता ?

काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष बीचको दुरी बढ्दै गर्दा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबीच भेटवार्ता भएको छ । यसले सत्तापक्ष र प्रतिपक्षबीचको बढ्दो दुरी कम गर्ने आँकलन गरिएको छ ।

भदौ ३ गतेको सर्वदलीय बैठक पछिको संवादहीनता तोड्दै कांग्रेसका शीर्ष नेतासँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्रीलाई भेट्न सभापति देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सीतादेवी यादव, विश्वप्रकाश शर्मालगायत पुगेका थिए ।

करिब ३ घण्टा भएको छलफलमा पछिल्लो समय सरकारले आफूखुसी निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । जागरण अभियानका क्रममा नेकपा नेताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको विषयलाई पनि गम्भीरतापूर्वक उठाएका थिए । प्रधानमन्त्रीसँग समय मागेर बालुवाटार पुगेका उनीहरूले घटनाका दोषीलाई कारबाहीको माग गरे ।

कांग्रेसले संविधानको मर्मअनुसार प्रदेश सरकारले काम गर्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । नेताहरूले सरकारले ल्याएका कतिपय विधेयक संघीय गणतन्त्रको मर्म्विपरीत भएको भन्दै सच्याउन माग गरेका थिए । देशमा शान्ति सुरक्षा खस्किँदै गएको प्रसंग पनि उठाए ।

सो भेटमा प्रधानमन्त्री ओलीले अब विधेयक ल्याउँदा दलहरुबीच छलफल गर्ने प्रतिवद्धता जनाएका छन् । ओलीले पार्टी एकतामा आफूले बढ्ता ध्यानदिनुपर्ने भएका कारण दलहरूबीच भेटघाट पातलिएको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले बाँके घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend