काठमाडौ ३० भदौ । अर्घाखाँचीको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक भैरव नाच काठमाडौंमा प्रदर्शन गरिने भएको छ । नेवार सम्पर्क समाज अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागिएको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए ।
लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।भिन्न परिवेश र भिन्न रहन–सहनमा हुर्रकिएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ। तर, पछिल्लो समयमा बढ्दो बसाइँ–सराई र आफ्नो थातथलो छोड्ने प्रवृत्तिका कारण यो नाच लोप हुने स्थितिमा रहेको छ ।’
अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको यो नाचको प्रस्तुति नेवाः समाज अर्घाखाँची–रुपन्देहीले काठमाडौंमा आएर दिन लागेको र यसको व्यवस्थापन आफूहरुले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।नेवार समुदायको मौलिक नाचका रुपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि सुरु भयो त्यसको यकिन तथ्य नभए पनि पुस्तौंदेखि यो नाच नाच्ने क्रम रहेको नाच संरक्षणका अभियान्ता मित्रलाल श्रेष्ठले बताए ।
काठमाडौं उपत्यकाको भन्दा केही पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिए आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने श्रेष्ठको भनाइ छ । नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातिका मानिसको सहभगिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए ।
धार्मिक आस्था एवं रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा छ। अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमि आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियन्ता श्रेष्ठको भनाइ छ ।
नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाच मध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ ।तान्त्रिक विधिसहित नाचिने यो नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ। भक्तपुरको ल्याकुः भैलजस्तै रहेको भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ। यसको शैली भिन्ना–भिन्नै छ ।
रहन सहन, जीवनशैली, तान्त्रिक ज्ञानको कमि वा अन्य समुदायको प्रभावले पनि हुनसक्छ यस नाचको शैली स्थान विशेष फरक पाइन्छ । नाचको शैली र बाजाको ताल भिन्न भए पनि यसप्रतिको आस्था, धार्मिक मान्यता र जनविश्वास भने उत्तिकै छ ।अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend