सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

फर्निचर तथा फर्निसिङका उत्पादनको बृहत् मेला सुरु, एकै छाना मुनी सयौं उत्पादन

फर्निचर तथा फर्निसिङका उत्पादनको बृहत् मेला सुरु, एकै छाना मुनी सयौं उत्पादन

काठमाडौं, असोज १० गते । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्वदेशमा वर्षेनी अर्बौको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनहरुमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफुखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । निजी क्षेत्रको मनोबल बलियो बनाउँदै उद्योग व्यवसाय प्रवद्र्दनको काम गर्न सरकारसँग अग्रवालले आग्रह गरे ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गरे ।

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवालले अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताए । उनले वर्षौ पहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समय सापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवद्र्दन गर्न सरकारसँग आग्रह गरे । उनले अर्थतन्त्र चलायमान बनाउन एक्स्पोको आयोजना गरिएको बताए । अग्रवालले राज्यले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै आर्थिक कृयालाप बिस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा “के हामी आत्मनिर्भर छौं रु” भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्ष गरिएको छ । फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend