८ असोज , काठमाडौं। चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा उल्लेख भएअनुसार नयाँ कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था लागू भएको छ।
नयाँ व्यवस्थाबारे राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त व्यवस्था लागू गरेकाे हाे।
नयाँ आर्थिक वर्षको सुरूवात साउन १ बाट याे व्यवस्था लागू हुनुपर्ने भए पनि आवश्यक गृहकार्य नपुगेपछि मन्त्रालयलेे लागू गर्न सकेकाे थिएन।
कम्पनी रजिस्ट्रारको कार्यालयले पनि उक्त व्यवस्था सुरूवात गर्न समय लाग्ने बताएको थियो।
आर्थिक ऐन २०८० मा कम्पनी दर्ता र पुँजी वृद्धिमा लाग्ने शुल्क शतप्रतिशत छुट हुने व्यवस्था गरेको थियो। चालू आर्थिक वर्षको तेस्रो महिना सुरू भएपछि नयाँ व्यवस्था लागू भएको हो।
रापत्रमा जारी सूचना अनुसार कम्पनी ऐन २०६३ को दफा ५ अनुरूप प्राइभेट तथा पब्लिक कम्पनीलाई यो व्यवस्था लागू हुनेछ। विदेशी कम्पनीका कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने कम्पनीका हकमा पनि याे व्यवस्था लागू हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend