शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेचुरल बचत तथा ऋण सहकारीको पन्ध्रौं साधारणसभाबाट प्रतिवेदनहरु पारित

नेचुरल बचत तथा ऋण सहकारीको पन्ध्रौं साधारणसभाबाट प्रतिवेदनहरु पारित

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा यही असोज ५ गते शुक्रबार अनुपम फुडल्यान्ड , बत्तीसपुतलीमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का संघिय सांसद एवं अर्थसमितिका सभापति सन्तोष चालिसे , बागमती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङ , सहकारीकर्मी केशव दङ्गाल लगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

त्यस अवसरमा संस्थाका उत्कृष्ट सदस्यहरु र कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो।

साधारणसभामा प्रमुख अतिथि सन्तोष चालिसेले सरकारको विशेष पहलबिना अहिलेको अर्थतन्त्रले लय नपक्रने बताए । विश्व अर्थतन्त्रमा आएको मन्दीले मुलुकको अर्थतन्त्रलाई समेत प्रभाव पारेको भन्दै उनले हरेक क्षेत्र संकटबाट गुज्रिरहेकाले यसलाई माथि उठाउन सरकारले भूमिका महत्वपूर्ण हुने बताए । आफु अर्थसमितिको सभापति भएको नाताले केहि समयभित्रै बैंकको ब्याजदर घटाइ बजारलाई चलायमान गराउन लागिपर्ने जनाए ।

मुलुकले खाद्यान्न लगायतका हरेक वस्तु विदेशबाट आयात गरिरहेकाले अब सहकारीहरु उत्पादनशील क्षेत्रमा जानुपर्नेमा उनले जोड दिए । घरगाडी जस्ता क्षेत्रमा गरेको करोडौं लगानीले राज्यलाई कुनै लाभ नहुने भन्दै चालिसेले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले शुभकामना मन्तब्य राख्दै सहकारी सदस्यको भएकाले संस्था बलियो भए सदस्यको आर्थिक सामाजिक हैसियत पनि बलियो हुँदै जाने औंल्याए । सदस्यहरुमा सहकारी मेरो हो भन्ने भावना जागृत गर्न आग्रह गर्दै उनले सहकारीबाट नै सदस्यको आर्थिक स्तर माथि उक्सनेमा दुईमत नभएको उनले जनाए ।

कार्यक्रममा बागमती प्रोस्कुनका कोषाध्यक्ष केशव दंगालले सहकारी, सामाजिक व्यवसाय र आर्थिक कारोबार गर्ने संस्था भएको बताए । सहकारीमा संकलन भएको पुँजीलाई उद्यमशीलतामा लगानी गर्नु उपलब्धीमूलक हुने उनको भनाई छ। एउटा साकोस राम्रोसँग उभिन सके अर्को साकोसको साख समेत बढ्ने हुँदा सदस्यले सहकारीप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा उनले जोड दिए । नेचुरल जस्ता राम्रा सहकारी समाजमा भए राज्यले लिएको समृद्धिको लक्ष्य प्राप्ति गर्न समय नलाग्ने उनको भनाई थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष अमात्यले संस्थाले व्यक्तिले होइन विधिले चल्नुपर्छ भन्ने मुल्यमान्यता स्थापित गर्न सकेकाले अहिलेको विषम परिस्थितिलाई समेत जित्न सकेको बताइन् । सदस्यहरुको पूर्ण सहयोग र विश्वासका कारण वित्तीय संकटका बेलामा पनि संस्थाको गरिमालाई कायम राख्न सकेको उनको भनाई छ ।

संस्थाका सचिव एवं प्रबन्ध सञ्चालक विकल्प पाठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन र यस आ.व.को बजेट सभामा प्रस्तुत गरेका थिए । मुलुकमा आएको आर्थिक मन्दी र केहि सहकारी संस्थाले गरेको गरेको गलत अभ्यासले गर्दा गत आर्थिक वर्ष चुनौतिपूर्ण बनेको उनले बताए । संस्थाको दीगोपनाका लागि वित्तीय सुशासन र पारदर्शितालाई अवलम्बन गर्दै संस्था अघि बढेकाले संकटको अवस्थामा पनि सहकारीको भीडमा संस्थाको छुट्टै पहिचान बनाउन सकेको उनको भनाई छ । संस्थाले प्रविधिलाई पहिलो प्राथमिकतामा राखेका र नेचुरल स्मार्ट एप, एटिएम, क्यूआरकोड स्क्यान विथ्ड्र, इ–पेमेन्ट, फण्ड ट्रान्सफर जस्ता सेवाहरु विगतदेखि नै सञ्चालनमा ल्याएको जनाए । सदस्यहरुलाई जन्मदेखि मृत्युसम्म संस्थाले सेवा पुर्याउने र सामाजिक क्षेत्रमा पनि विभिन्न योगदान दिँदै जाने उनले प्रतिवद्धता जनाए ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १७ करोड ८ लाख शेयरपुँजी, १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी गरी १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले त्यस अवधिमा २ अर्ब ६६ करोड ५६ लाख कुल कारोबार गर्न सकेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ४२ लाख र स्थिर सम्पत्ति २१ करोड ५३ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत नगद लाभांश बाड्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले मुख्य कार्यालयसहित ४ वटा सेवा केन्द्रमार्फत १२ हजार ५०० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । सभामा विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारी र सदस्यलाई सम्मान गरिएको थियो । साधारण सभामा नेचुरल साकोसको समग्र अवस्था समेटिएको एक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend