शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मन शुद्ध भएमात्र बजारको शुद्धीकरण हुन्छ : कानुनमन्त्री गुरुङ्ग

मन शुद्ध भएमात्र बजारको शुद्धीकरण हुन्छ : कानुनमन्त्री गुरुङ्ग

२६ भदौ , काठमाडौं । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले कानुन र ऐनले मात्रै उपभोक्ताको अधिकार र हितको संरक्षण हुन नसक्ने बताएका छन । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारणसभा बोल्दै उनलेे बजारमा देखिएका विभिन्न विसङ्गती , अनियमितता , मिसावट र विषादि हटाउन सबैभन्दा पहिले हरेक मान्छेको मन शुद्ध हुनुपर्नेमा जोड दिए।

‘शुद्ध मन भएको व्यक्तिले शुद्ध चिज उत्पादन गर्छ। त्यसैले मान्छेको मनको पहिले शुद्धीकरण हुनुपर्छ। लोभ र पापको अन्त्य हुनुपर्छ ‘,मन्त्री गुरुङ्गले भने,’कानुन , ऐन ,र अनुगमनले मात्रै बजारको शुद्धीकरण हुन गाह्रो हुन्छ।’

कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले नेपाली उपभोक्ताले शुद्ध र गुणस्तरीय खाद्यान्न र सामग्रीको उपभोगको सुनिश्चितता गर्नु यस महासंघको उद्देश्य रहेको बताए । ‘यसको लागि स्थानीय स्तरमा नै खबरदारी गर्ने जनस्तरको संगठन भएमा कालोबजारी , भ्रष्टाचार , र कुशासनको अन्त्य हुन्छ र उपभोक्ताको अधिकारको रक्षा हुन्छ’,उनले भने ।

नेपाली उपभोक्ता संरक्षण महासंघले सातै प्रदेशमा प्रदेशस्तरीय सहित एघार वटा संघमार्फत उपभोक्ताको हितमा लागिपरेको उनलेे बताए ।

कार्यक्रममा दिव्री अर्गानिक मल चितवनका अध्यक्ष लक्ष्मण थारुले स्वास्थ खाना मानिसको पहिलो आवस्यकता र अधिकार रहेको बताउदै भारत र अन्य ठाँउबाट दैनिक आयात हुने विषादियुक्त खाद्यान्नको विकल्प खोज्नु अनिवार्य भएकोमा जोड दिए। आफुहरुले चितवनमा प्राङ्गरिक कृषि अभियानको शुरु गरेको उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend