खबरब्रेकिंग, काठमाडौं, भदौ १७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले आफू मन्त्री भएको पाँच महिना पुगेको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गरेका छन । उनले पहिलो प्राथमिकता रासायनिक मलको आयात रहेको बताए । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पहिलो प्राथमिकता मल आयात नै रहेको उनको भनाई छ ।
उनले भने, “मन्त्रालय सम्हालेपछि कृषिका लागि मुख्य समस्या रासायनिक मल नै हुने गरेकाले मेरो पहिलो प्राथमिकता नै मल आयात भएको हो । अहिले मल पर्याप्त मात्रामा आएको छ ।”
मन्त्रालयसँग अहिले ५० देखि ६० हजार टन रासायनिक मल मौज्दात रहेकाले यस वर्ष रासायनिक मलको अभाव नहुने उनको भनाइ छ । केही स्थानीय तहमा मल वितरण प्रणालीमा कमजोरी भएकाले यसलाई सुधार्दै अगाडि बढ्ने उनले बताए ।
यस्तै, पुराना कार्यक्रमका साथै नयाँ कार्यक्रमलाई पनि अगाडि बढाएको उनको भनाइ छ । इलाम, सुनसरी, रौतहट सर्लाही, काभ्रे, नुवाकोट, तनहुँ, पर्वत, अर्घाखाँची, कपिलवस्तु, दैलेख, कालिकोट, कैलाली र बैतडी जिल्लाका १६१ पालिकामा पशु स्वास्थ्य आधारभूत प्रयोगशाला स्थापना कार्यक्रम यस वर्ष नयाँ कार्यक्रम रहेको उनको भनाइ छ ।
मन्त्रालय सम्हालेपछि नयाँ ऐन, नियम निर्देशिका र मापदण्ड पनि निर्माण गरेको मन्त्री भुसालले बताए । खाद्य पदार्थमा विषादीको अधिकतम अवशेषसम्बन्धी मापदण्ड पारित गरिएको छ । कुखुराको दानाको गुणस्तर तथा मात्रा तोकिएको आदेश २०८० पारित गरिएको उनको भनाइ छ ।
लम्पी स्किन रोगको उपचार तथा नियन्त्रणका लागि १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको उनले बताए । यस रोगको रोकथामका लागि सम्पूर्ण प्रयासहरू गरिएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend