खबरब्रेकिंग, काठमाडौं भदौ १७ गते । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले १० बुँदे माग तत्काल सुनुवाइ नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उसले यस्तो चेतावनी दिएको हो ।
सरकारले देशमा व्यवसायीक वातावरण बिगारेको आरोप महासंघले लगाएको छ । उसले राष्ट्र बैंकले समेत भूमिका खेलेको बताएको छ । महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवारी सरकार र राष्ट्र बैक भएको बताएको छ ।
महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योगी व्यवसायीको १० बुँदे माग सरकारले पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो माग सम्बोधन नभए कडा आन्दोलन गर्ने छौं । देशमा सबै व्यवसायीहरु अहिले समस्यामा छन् ।’ उनले समस्यामा परेका व्यवसायीलाई सरकारले अझै समस्या थप्दै गयो भने महासंघ चुप्प लागेर नबस्ने बताए । यसबाहेक अन्य मागसहित आफ्ना १० बुँदे माग तत्काल सुनुवाइ नभए आन्दोलनमा होमिने महासंघको भनाई छ ।
उच्च ब्याजलाई घटाई उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न समेत महासंघले माग राखेको छ । अर्थतन्त्रको मुख्य हिस्सा करिब ८१.५५ प्रतिशत ओगटेको निजी क्षेत्रलाई संरक्षण गर्ने र बैंकहरुले व्यवसायीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन वातावरण बनाउनुपर्ने महासंघको माग छ ।





© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend