सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्मचारीको बदमासी, ६० करोडको कम्पनी नै कर्मचारीको नाममा

कर्मचारीको बदमासी, ६० करोडको कम्पनी नै कर्मचारीको नाममा

 

कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।

प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् ।
उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो । उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।

जटियाको कम्पनीमा १६ वर्ष काम गरेर मगरले विवादका कारण केही महिनाअघि जागिर छाडे । त्यसपछिका केही हप्ता जटिया सिंगापुर बसे । नेपाल फर्किएको केही दिनमै उनलाई फोन आयो– तपाईंले आफ्नो जग्गा बेच्न लाग्नुभएको हो ?

मालपोत कार्यालयका कर्मचारीले फोन गरेर उनलाई यो प्रश्न सोधेका थिए । मालपोतका कर्मचारीको प्रश्नले उनी झस्किए । जग्गा बेच्नेबारे कोहीसँग उनको कुरै भएको थिएन । तर, जग्गा नामसारीको कागजपत्र मालपोत कार्यालयमा तयार भइसकेको थियो । चिरीबाबु महर्जन नामक एक बिचौलियाले जग्गा नामसारीको प्रक्रिया अघि बढाएका थिए । मालपोतका कर्मचारीबाट सूचना पाएपछि उनी हतारहतार मालपोत कार्यालय गएर बुझे । जग्गा कम्पनीको नाममा थियो । विदेशीले कम्पनीको नाममा सम्पत्ति जोड्न पाउने, तर व्यक्तिको नाममा नपाउने भएकाले उनको सबै सम्पत्ति कम्पनीको नाममा थियो ।

सबै सम्पत्ति रहेको उनको कम्पनी आफ्ना पूर्वकामदार मगरको नाममा नामसारी भइसकेको कागजपत्र मालपोतमा पेस गरिएको थियो । उनी थप तनावमा परे । कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर बुझ्दा कम्पनी उनको नाममा थिएन । करिब ६० करोड रुपैयाँबराबरको घरजग्गालगायत सम्पत्ति पनि बिक्री हुने क्रममा रहेको थाहा पाए । जग्गा बिक्रीका लागि मगरले बैना रकमसमेत लिइसकेका थिए । बालुवाटारमा रहेको करिब दुई रोपनी जग्गा र घर, सतुंगलको जग्गा, त्यस्तै नुवाकोट र म्याग्दीमा रहेको जग्गासमेत उनले बिक्रीको प्रक्रियामा लगिसकेको पत्ता लाग्यो ।

त्यसपछि जटिया प्रहरीमा पुगे । सिआइबीले तत्कालै जितबहादुरलाई पक्राउ गरेर अनुसन्धान थाल्यो । प्रहरीले जटियाको घरजग्गा बिक्रीका लागि लिएको ५० लाख बैना रकम पनि बरामद गरेको छ । ‘अनुसन्धानका क्रममा एक व्यक्तिले जितबहादुरलाई प्रयोग गरेर जटियाको सम्पत्ति हात पार्न खोजेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारीले भने । कर्मचारीकै मिलेमतोमा त्यसरी नक्कली कागजपत्रका आधारमा नामसारी भएको थियो । अनुसन्धानका क्रममा कर्मचारीले मोटो रकम लिएको खुलेको छ ।
व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।
त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend