काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताका लागि पर भाग्न खोजेको बताएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पहल गर्न आग्रह गरेअनुसार संघीय संसदमा उपस्थित दलहरूको सर्वदलीय बैठक बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्षी दल एमाले नै बैठकमा उपस्थित भएन ।
‘एमालेसँग संवाद गर्न यसअघि सभामुखले आयोजना गरेको बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभयो, अहिले प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभएको छ,’ कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यसले उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ ।’
सर्वदलीय बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै मन्त्री कार्कीले संसद अधिवेशन अन्त्यका लागि सरकारले नसोचेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री देउवाले आजको बैठकमा अनुपस्थित भए पनि फेरि एमाले अध्यक्ष ओलीलाई आमन्त्रण गरेर वार्ता अगाडि बढाउने बताएको मन्त्री कार्कीले जानकारी दिए ।
संघीय संसदलाई निर्वाध र मर्यादित हिसाबबाट अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीले सकारात्मक भूमिका वहन गर्ने आग्रह सर्वदलीय बैठकको निष्कर्ष रहेको मन्त्री कार्कीले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend