शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार

सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार

फाइल तस्बिर

 

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बिहान १० बजेका लागि बैठक बोलाइए पनि केहीबेर ढिलो गरी बैठक सुरु भएको हो ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल भइरहेको छ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

आफूहरु सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा हुने खालका बैठकमा मात्रै सहभागी हुने र अरु बैठकमा सहभागी नहुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने भएको हो । आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गएको भदौ २३ गतेदेखि सङ्घीय संसद्का बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको छ।

बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल सहभागी छन् । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend