काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन । देशमा गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसका मुद्दाको सवालमा जानकारी गराएको उनले जनाए । त्रुटिपूर्ण संविधानका कारण मुलुकमा अस्थिरता निम्तिएको उनले बताए। आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए । संविधानको धारा ७६ मा सरकार गठन र विस्थापनबारे प्रस्ट व्याख्या भएको भए अहिलेको अवस्था सिर्जना नहुने उनको भनाइ थियो ।
अन्तरिम संविधानमा रहेका अधिकारहरू समेत वर्तमान संविधानले कटौती गरेकाले संविधान संशोधनको सवालमा लोसपा अडिग रहेको ठाकुरको भनाइ थियो । उनले भने, ‘संविधान संशोधन, मधेसका आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दा यथावत नै छ ।’
मधेसी जनतामाथि विभेद कायमै रहेको बताउँदै ठाकुरले सो विभेद अन्त्य नभएसम्म आफूहरुको संघर्ष जारी रहने प्रस्ट पारे । माओवादीले सशस्त्र संघर्ष गरेर सत्तासम्म पुगेको बताउदै उनले माओवादीका कुनै नेतामाथि मुद्दा नचलाउने तर मधेसी जनताले आफ्नो अधिकारका लागि संघर्ष गर्दा दर्जनौँ आन्दोलनकारीमाथि मुद्दा लगाइएको गुनासो गरे । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसको मुद्दा र माग पूरा नहुञ्जेलसम्म आन्दोलन निरन्तर जारी रहने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend