जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम पुगेका छन । उनी प्रदेश २ संसदीय दलको नेता चयन गर्न त्यहाँ पुगेका हुन । शनिबार जनकपुर विमानस्थलमा वरिष्ठ नेता ठाकुरले आइतबार बस्ने बैठकमा दलको नेता छनौटको विषयमा छलफल हुने बताएका छन ।
आइतबार २ बजे लोसपा प्रदेश २ को बैठक डाकिएको छ । बैठकमा दलको नेता चयन, प्रदेश सरकारबाट सर्मथन फिर्ता लिनेरनलिने र समसमायिक विषयमा छलफल हुने बुझिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अल्गिएर ५५ सांसदमध्ये १६ सांसदले लोसपा रोजेका छन् । संसदीय दलको नेतृत्वको लागि जीतेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतोले कसरत गरिरहेका छन् ।
सोनल तत्कालीन राजपा संसदीय दलका नेता थिए । लोसपा गठन भएपछि संसदीय दलका नेताको आकांक्षी बढेको र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठाएपछि विधान बनाइएको छ । सहमति नजुटे विधानअनुसार चुनावबाटै दलका नेता चयन हुने नेताहरुको भनाइ छ ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता ठाकुर केन्द्रीय सरकारमा सहभागी हुनेरनहुने बारे बोल्न मानेन् । सञ्चारकर्मीको जिज्ञासामा सरकारमा जाने कुरा तपाईंबाट मात्रै थाहा भएको भन्दै पञ्छिए । एमसीसीको विषयमा पनि अहिले बोल्नु पर्ने आवश्यकता नरहेको उनले बताए । संसदमा गएपछि लोसपाले औपचारिक धारणा बनाउने उनको भनाइ छ । तर, लोसपाकै अर्का नेता अनिल झाले एमसीसीको समर्थन गर्ने संकेत गरेका छन् । ठाकुरसँगै काठमाडौंबाट जनकपुरधाम गएका झाले एमसीसीको विरोध नगर्ने बताएका हुन् । औपचारिक जानकारी आएपछि लोसपाले निर्णय लिने उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend