काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओली एमालेको नेतृत्वमा आएपछि एमाले र माओवादी केन्द्र एकता गरेर वामपन्थी एकतालाई अघि बढाएको स्पष्ट पारेका छन् । तर, ओलीले विकासको आँधी बेहरी ल्याएको देखेर विरोधीहरु अत्तालिएको पनि उनको टिप्पणी थियो । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्नको लागि देशी विदेशी शक्तिमात्रै नभएर आफ्नै पार्टीका नेताहरु पनि लागेको पनि बताए ।
आज (शनिबार)नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई उठाउन थालेको र एमालेप्रति आकर्षण बढेको पनि दाबी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कार्यकर्ताहरुले एकीकृत गरेर अघि बढाउने पनि प्रतिबद्धता जनाए ।
उनले भने,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई हामी बलियो बनाउँछौं । म कमरेड प्रचण्डलाई पनि अनुरोध गर्दछु, नेपालको कम्युनिष्ट आन्दोलनलाई शेरबहादुरको हातमा सत्ताको साँचो सुम्पिएर, शेरबहादुर देउवाको पुच्छर बनेर माधव नेपाललाई समेत विखण्डनको एउटा घिनलाग्दो अवस्थामा पुर्याईदिएर तपाईँहरु क्रान्ति र समाजवादको कुरा गर्ने, यो कुरा आज लोकले पत्याईरहेको छैन् । तपाईले आफ्नो राजनीतिक भविष्यलाई उज्जवल बनाउन चाहनुहुन्छ भने, अब म एक्लिँदै छु, माओवादी केन्द्र विघटित हुँदैछ भनेर तपाईँले भन्नुभएको छ, अब तपाईँहरु सेनाविहीन सेनापतिको उपमा पाउँदै हुनुहुनछ, यो दुःखद् परिस्थिति हुनुभन्दा पहिले आफ्नो गल्ती सच्याए, आफ्ना गल्ती स्विकार गरेर यो कम्युनिष्ट आन्दोलनको नेता बन्ने हो भने फेरि पनि नेकपा एमालेमा आवद्ध हुनुहोस, समय आउँछ पर्खिदैन्, बगेको खोला फर्किँदैन् ।’
उनले आजको दिनसम्म प्रचण्ड र माधव नेपालको मूल्य दश प्रतिशतमात्रै घटेको दाबी गरेका छन् । उनले आफ्नो पार्टीको विरुद्ध महागठबन्धन गर्ने काम गरिएको भन्दै आफूहरु देश बनाउनको लागि एकताबद्ध भएर अघि बढ्ने पनि प्रण गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend