फाइल फोटो
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले (एमाले) मा तेस्रो धार भनिएका नेताहरू आँट र विद्रोह गर्न नसक्ने र अध्यक्ष ओलीसँग गल्ने स्वभावका भनेर आरोप लगाएका छन । माधवकुमार नेपालको आजको भाषणले देश भरी तरंग उत्पन्न गरेको छ । नेता नेपालले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवम् सोचमा परिवर्तन, नागरिकसँग सम्बन्ध, आचरण सुधारमा जोड दिने कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गरे ।
आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिए । प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज बुधवार आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन ।
कार्यक्रममा उनले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताए । पार्टी जनताको बहुदलीय जनवाद (जबज) को मूल्य–मान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने उनको भनाइ छ ।
एक प्रसङ्गमा उनले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट पारे ।
आउँदो चुनावसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उनले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकारे । पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा एक सय ५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि त्यस अवसरमा दिइएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend