माधवकुमार नेपालने तृत्वको नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तुलबहादुर गुरुङ चयन भएका छन्।उक्त पार्टीको प्रदेशस्तरीय बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो। उनको अध्यक्षतामा गण्डकीमा एक सय ३५ सदस्यीय प्रदेश कमिटी पनि गठन भएको छ।
प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा गण्डकीबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्यहरूको बैठकले यो निर्णय गरेको हो। सचिवमा तनहुँका प्रतापलाल श्रेष्ठ र उपसचिवमा कास्कीकै श्रीनाथ बराल चयन भए। उपाध्यक्ष र महिला उपसचिव भने खाली राखिएको छ। अहिले नयाँ पार्टीको जिल्लास्तरीय कार्यक्रम भइरहेको छ। संगठन विस्तार र प्रशिक्षण चलिरहेको नवनिर्वाचित उपसचिव बरालले बताए।
‘अब सबै जिल्ला, पालिका हुँदै वडा तहसम्मको कमिटी गठन र पार्टी कार्यालय स्थापना हुन्छन्,’ उनले भने, ‘प्रशिक्षण चलिरहेको छ। जिल्लास्तरीय बैठक भइरहेका छन्।’
बरालका अनुसार ३ असोजमा अध्यक्ष माधवकुमार नेपालले पोखरामा प्रदेशस्तरीय र जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend