काठमाण्डौ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र अहङ्कारवादविरुद्ध लड्नुपर्ने बताएका छन । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै नेपालको कम्युनिस्ट पार्टीहरूमा सरकारमा पुगेपछि अहङ्कारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लड्नुपर्ने बताएका हुन ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतवार काठमाण्डौमा विमोचन गर्दै उनले नेपालको कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
नेता नेपालले भने , ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौँ । अनि सत्तामा पुगेपछि अहङ्कार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौँ । र कम्युनिस्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ । यस्ता सबै खालका गैर सर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी नागरिकको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीले काम गर्नुपर्दछ ।’
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूले ‘चुनावदेखि चुनावसम्म’ नभइ ‘जनतादेखि जनतासम्म’को अभियान सञ्चालन गर्नुपर्ने पनि बताए । उनले नेपालको कम्युनिस्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै ती कम्युनिस्ट पार्टीले मात्रै वास्तविक रूपमा देशलाई एकताबद्ध बनाउने र देशको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend