शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका सचिव गुरुङले भने -माधव नेपालले दश बुँदे सहमति नमानेर पार्टी फुटाए

एमालेका सचिव गुरुङले भने -माधव नेपालले दश बुँदे सहमति नमानेर पार्टी फुटाए

 

 

काठमाण्डौं ।  नेकपा एमालेका सचिव एवं स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपालले दशबुँदे सहमति नमानेर एमाले फुटाएको आरोप लगाएका छन । एमाले म्याग्दीले आज शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दशबुँदे सहमतिको कार्यान्वयन गर्नुको सट्टा पार्टी फुटाएको बताएका हुन ।

सचिव गुरुङले दुई जना नेतासँग सरसल्लाह गरेर दशबुँदे सहमतिपत्र तयार पारेको बताउँदै पार्टीमा यसलाई कार्यान्वयन गर्नका लागि केपी ओली र माधव नेपाललाई बुझाइएको बताए । उनले भने – ‘केपी ओलीले दशबुँदेको अनुमोदन गर्नुभयो । समर्थन गर्नुभयो र त्यसलाई कार्यान्वयन गर्ने भन्नुभयो ।’ तर माधव नेपालले यसमा मेरो असहमति छ, म यो स्वीकार्न सक्तिन भनेको बताए ।

‘माग गर्दैगर्दै जाने, अनि निहुँ झिक्दै जाने, एकपछि अर्को निहुँ झिक्दै जाने, निहुँ झिक्दै जाने, उहाँको उद्देश्य के रहेछ भने पार्टी छोडेरै जाने रहेछ’ उनले भने । नेताहरुलाई मिलाउनका लागि अब महाधिवेशनसम्म माधव नेपालजीलाई अर्को अध्यक्ष दिएरै भए पनि पार्टीको एकता जोआगौं भनेर आफूले प्रस्ताव गरेको सचिव गुरुङले बताए ।

उनले लामो छलफलबाट केपी ओलीले यो प्रस्ताव स्वीकारेपछि विष्णु पौडेल र सुवास नेम्बाङ प्रस्ताव लिएर माधव नेपालकहाँ गएको बताउँदै भने– ‘तर माधव नेपालले कहाँ म जान्छु, पदलोलुप हुन्छ, म पदलोलुप व्यक्ति होइन, विधि र प्रक्रियामा विश्वास गर्ने व्यक्ति हो । जे एन झलनाथजीलाई बनाउनुहोस् ।’ उहाँले जबकी आफूसँग माधव नेपालले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुहोस्, मिल्न सक्छ । कारवाही सबै फिर्ता गर्नुस् मिल्न सक्छ र फागुन २८ पछाडि एकलौटी गरेका सबै निर्णय खारेज हुनुपर्ने भनेको बताए ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एमाले सचिव गुरुङले एमालेको अर्को अध्यक्ष बनाउँदा पनि हुँदैन, जेठ २ गते फर्कंदा पनि हुँदैन र कारवाही सबै फिर्ता लिँदा पनि नभएपछि माधव नेपालले प्रचण्डसँग कस्तो सम्झौता गर्नुभएको रहेछ ? भनेर प्रश्न गरे । उनले माओवादीका एक नेताले आफूलाई केपी ओलीसँग माधव नेपाल सँगै पार्टीमा बस्दैनन् भनेको बताउँदै माधवले प्रचण्डसँग एमाले फुटाउनका लागि सम्झौता गरेको खुलासा गरे ।

तर उनले माओवादीको कुन नेताले त्यसो भनेको भनेर नाम भने सार्वजनिक गरेनन् । फुटेर गएको पार्टीले संसारमा कहीँ पनि चुनाव जितेको र सरकारको नेतृत्व गरेको उदाहरण नभएको बताउँदै एमाले सचिव गुरुङले माधव नेपाल समूहसँग कुनै तर्क पनि नभएको र पार्टी पनि चल्न नसक्ने बताए ।

उनले माधव नेपाल आफूमा भएको बिना छाडेर अर्काकोमा भएको बिना खोज्दै हिँडेको आरोप लगाए । माधव नेपालको पार्टीमा कुनै विचार, सिद्धान्त र नीति नभएकाले त्यो पार्टीमा जान आवश्यक नभएको भन्दै नेता कार्यकर्तालाई सचिव गुरुङले आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend