काठमाण्डौं । पार्टी विभाजन भए पछिको पहिलो बृहत्त कार्यकर्ता भेला आयोजना गरेको नेकपा एमाले काभ्रेको भेलामा कार्यकर्ताहरु उर्लिएका छन् । लामो समय पछि भएको भेलामा एकताको सन्देश दिन र एमाले विभाजन भएको छैन भन्ने सन्देश दिन कार्यकर्ताहरु जिल्लाका विभिन्न स्थानबाट सहभागि भएका थिए ।

एमालेको बृहत्त कार्यकर्ता भेलालाई महासचिव ईश्वर पोखरेल सहितका दर्जन नेताहरुले सम्बोधन गरेका छन् । अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पनन भेलालाई महासचिव पोखरेलको अलावा नेता टोपबहादुर रायमाझी, पुर्व मन्त्री एवं काभ्रे ईन्चार्ज गोकुल बास्कोटा, संघिय सांसद नविना लामा, पुर्व राज्य मन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, वागती प्रदेश सभा सदस्य गोमा भुर्तेल र चन्द्र लामा, नेताहरु चुडामणी गौतम ‘हेमक’, नारायण बानियाँ ‘दिपेश’, रिता ढकाल, नारायण पाण्डे, इन्द्र तामाङ लगायतले सम्बोधन गरेका थिए ।
नेता टोपबहादुर रायमाझीले अध्यादेश, परमादेश र जनादेश के सही र गलत हो भन्ने कुरा छुट्याउने बेला आएको बताए । केपी शर्मा ओलीको नेतृत्वमा विकास र समृद्धिको एजेण्डा परिवर्तन भएको उनले दाबी गरे । बिकास र समृद्धिबाट मात्र देशमा परिवर्तन सम्भव छ भनेर नै केपी ओलीको नेतृत्वमा विकासको अभियान अघि बढेको उनले बताए ।
कसैलाई प्रधानमन्त्री र कसैलाई पार्टी अध्यक्ष चाहिएर अस्वस्थ प्रतिस्पर्धा सुरु भए पछि नेकपा विभाजित भएको उनले बताए । ‘राष्ट्र र जनतलाई केन्द्रमा राखेर पार्टी एकता नगरेका साथीहरु पार्टी विभाजनतर्फ लाग्नुभयो, एकहदसम्म पार्टी विभाजन गरेर छाड्नुभयो’, उनले भने ।
माधव नेपाल लगायतका नेताले राजनीतिमा दुनियामा नै नभएको अपराध गरेको उनले बताए । प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर हिंड्ने जस्तो निकृष्टता अरु केही हुनै नसक्ने उनले बताए । ‘आफू सिद्धियो भन्ने थाहा छैन, प्रधानमन्त्री बनाइयो भनेर दंग हुनुहन्छ’, रायमाझीले भने ।
पुँजीवादका नाइकेलाई नेता बनाएर हिँड्नेहरु समाजवादमा पुग्न नसक्ने उनले बताए । प्रचण्डले पुँजीवादका नाइकेलाई बोकेर हिँडेको कारण आफूहरुले माओवादी छाड्नु परेको रायमाझीले बताए । आफूहरुले सर्वोच्च अदालतको फैसलालाई चुनौति दिएको पनि रायमाझीको भनाइ छ । ‘सर्वोच्चले एमाले जति एमालेमा जाऊ, माओवादी जति माओवादीमा जाऊ भन्यो, हामीले मानेनौँ, हामी राजनीतिक रुपमा नेकपामा नै बस्यौँ, कानुनी रुपमा एमाले भयौँ’, रायमाझीले भने ।

भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री गोकुल बास्कोटाले काभ्रेको विकासमा नेकपा एमाले बादशाह भएको बताए । समृद्ध काभ्रेको योजनामा बजेट विनियोजन गरी दुरगामी प्रभाव पार्ने खालका योजनाहरु शुरु भएको बास्कोटाले बताए । केहि दिन अघि एमालेबाट विभाजन भएका नेताहरुले एमालेमा रहेर केहि गर्न नसकिएको आरोप लगाएका थिए ।
जीवनभर पार्टीमा रहेर पद लिएकाहरु मात्रै एमालेको विभाजनमा सहभागि भएका छन् । नेताहरुले विभाजनको पक्षमा नलाग्न अनुरोध गरेका छन् । अध्यक्ष अशोक ब्याञ्जुले जिल्लाका सबै पालिका र वडाहरुमा पार्टी काम शुरु भएको र संगठित सदस्य नविकरण भईरहेको जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend