काठमाडौं । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, स्याङ्जा, चितवन, नवलपरासी लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनले गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
एसोसिएसनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
एसोसिएसनका अध्यक्ष कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिहरूको सकुशल खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना समेत गरिएको छ।
प्राकृतिक विपद्ले प्रभावित नागरिकहरूको दैनिक जीवन अत्यन्त कठिन बनाएको उल्लेख गर्दै एसोसिएसनले यस्तो विषम परिस्थितिमा सबै पक्षको साथ, सहयोग र सहकार्य नै पीडितहरूका लागि आशाको किरण बन्न सक्ने जनाएको छ।
मानवीय सेवाको भावनाबाट प्रेरित हुँदै कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनले बाढीपीडित परिवारहरूको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ। यसका लागि सरकारी निकाय, स्थानीय तह, विभिन्न संघसंस्था, व्यवसायी तथा सम्पूर्ण सदस्यहरूलाई आवश्यक समन्वय र सहकार्यका लागि अपिल गरिएको छ।
अध्यक्ष श्रेष्ठले विपद्को यस कठिन घडीमा सबै नेपाली एकजुट भएर पीडितहरूको सहयोगमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै दुःखमा परेकालाई साथ दिन र मानवियताको परिचय दिन सबैमा आग्रह गरेका छन्।
एसोसिएसनले सकारात्मक सोच, एकता र सहकार्यबाट मात्रै समाजलाई अझ सशक्त, सुरक्षित र मानवीय बनाउन सकिने उल्लेख गर्दै “सबैको साथ, पीडितको राहत; हाम्रो साथ, मानवियताको साथ” भन्ने सन्देशसमेत दिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend