प
काठमाडौं । पेसागत महासङ्घ नेपालले रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
महासङ्घले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली, बट्टार, देवीघाटलगायतका क्षेत्रका बस्ती, बजार, सडक, पुल, विद्युत् आयोजना तथा सरकारी एवं सार्वजनिक संरचनामा गम्भीर क्षति पुगेको जनाएको छ।
धादिङतर्फ समेत पुल तथा सडक संरचनामा क्षति पुगेर आवागमन प्रभावित भएको उल्लेख गर्दै महासङ्घले बाढीका कारण नागरिकको जनजीवन, सार्वजनिक सेवा, यातायात, रोजगारी तथा स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर परेको जनाएको छ।
महासङ्घले यस्तो दुःखद् घडीमा जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सहायता नै राज्यको पहिलो प्राथमिकता हुनुपर्ने स्पष्ट धारणा राखेको छ। जोखिममा रहेका नागरिकको तत्काल उद्धार, बेपत्ता व्यक्तिको तीव्र खोजतलास, घाइतेको शीघ्र उपचार तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्रलाई अधिकतम रूपमा परिचालन गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।
प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक तथा मन्त्रिपरिषद्को आपत्कालीन बैठकबाट उद्धार, उपचार, राहत, सुरक्षित स्थानान्तरण, सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनःसञ्चालन र आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णयलाई सकारात्मक रूपमा लिइएको छ।
तर महासङ्घले यस्ता निर्णय केवल कागजमा सीमित नरहनुपर्नेमा जोड दिएको छ। प्रभावित नागरिकले तत्काल राहत र राज्यको उपस्थितिको अनुभूति गर्ने गरी निर्णयहरू प्रभावकारी, शीघ्र र समन्वयात्मक रूपमा कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।
महासङ्घका अनुसार तत्काल राहत वितरण गरेर मात्र राज्यको जिम्मेवारी पूरा भएको मान्न नहुने भन्दै प्रभावित बस्ती, सार्वजनिक संरचना, विद्यालय, स्वास्थ्य संस्था, सडक तथा नागरिकको जीविकोपार्जनका आधारहरूको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माण वैज्ञानिक जोखिम मूल्याङ्कनका आधारमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
भविष्यमा यस्तै प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने तथा नदी र नदी आसपासका बस्ती व्यवस्थापनमा दीर्घकालीन र वैज्ञानिक योजना लागू गर्नुपर्ने महासङ्घको धारणा छ।
सरकारले प्रभावित स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको निर्णयलाई महासङ्घले आवश्यक राज्यीय प्राथमिकताको संकेतका रूपमा लिएको जनाएको छ। उक्त घोषणासँगै पर्याप्त स्रोत, जनशक्ति, राहत तथा पुनर्निर्माणको स्पष्ट कार्ययोजना र जवाफदेही कार्यान्वयन सुनिश्चित गर्न पनि महासङ्घले आग्रह गरेको छ।
पेसागत महासङ्घ नेपालले यस विपद्को घडीमा प्रभावित नागरिकप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै आफ्ना सम्पूर्ण सदस्य, सम्बद्ध संघ–संस्था, पेशाकर्मी तथा आम नागरिकलाई उद्धार, राहत, मानवीय सहयोग र पुनःस्थापनाका कार्यमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य गर्न हार्दिक अपिल गरेको छ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले प्राकृतिक विपद्मा ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता नागरिकको तत्काल खोजतलास गरी परिवारसँग पुनर्मिलन गराउन सम्बन्धित निकायसँग विशेष आग्रह गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend