बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रसुवाको बाढीप्रति नेपाल उद्योग व्यापार महासंघको दुःख व्यक्त, उद्धार र राहत तीव्र बनाउन माग

रसुवाको बाढीप्रति नेपाल उद्योग व्यापार महासंघको दुःख व्यक्त, उद्धार र राहत तीव्र बनाउन माग

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेंसीलगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा आएको आकस्मिक बाढीबाट भएको ठूलो जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आकस्मिक बाढीका कारण मानव बस्ती, घर–व्यवसाय, सडक, पुल, विद्युत तथा अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ। बाढीका कारण रसुवागढी नाका तथा चीनसँगको व्यापारिक आवागमनमा समेत गम्भीर प्रभाव परेको महासंघले उल्लेख गरेको छ।
महासंघका अनुसार क्षतिको वास्तविक विवरण संकलन तथा मूल्याङ्कन भइरहेको अवस्थामा प्रभावित नागरिक तथा व्यवसायीहरूले ठूलो पीडा र कठिनाइ भोग्नुपरेको छ। महासंघले विपद्मा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
महासंघका अध्यक्ष खिमनारायण पराजुलीले बेपत्ता भएका नागरिक तथा सुरक्षाकर्मीहरूको तत्काल खोजी गरी सकुशल उद्धार गर्न तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
महासंघले नेपाल सरकार, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, रेडक्रसलगायत सम्पूर्ण सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र बनाउन आग्रह गरेको छ।
एफएनआईसीले विशेषगरी बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न, प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, खानेपानी, अस्थायी आवास तथा अत्यावश्यक राहत सामग्री तत्काल पुर्‍याउन माग गरेको छ। साथै अवरुद्ध सडक, पुल, विद्युत, सञ्चार तथा अन्य पूर्वाधारको आपत्कालीन पुनःस्थापना तत्काल सुरु गर्नुपर्ने जनाएको छ।
महासंघले रसुवागढी नाका तथा चीनसँगको व्यापारिक आवागमनमा परेको अवरोध हटाउन विशेष कार्ययोजना बनाई शीघ्र सञ्चालनको वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बाढीबाट क्षति भएका उद्योग, व्यवसाय, व्यापारिक प्रतिष्ठान तथा पूर्वाधारको शीघ्र क्षति मूल्याङ्कन गरी पुनःस्थापनाका लागि विशेष राहत तथा सहुलियतको व्यवस्था गर्न पनि माग गरिएको छ।
प्रभावित व्यवसायी तथा उद्यमीहरूका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कर्जा पुनर्तालिकीकरण, ब्याज सहुलियत तथा पुनःकर्जालगायत आवश्यक राहतका उपाय अवलम्बन गर्नुपर्ने महासंघको माग छ।
त्यस्तै, भोटेकोशी तथा त्रिशूली नदी आसपासका सम्भावित जोखिम क्षेत्रका नागरिकलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न महासंघले आग्रह गरेको छ। विपद्को कारण र जोखिमबारे वैज्ञानिक अध्ययन गरी भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन विपद् व्यवस्थापन तथा पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा पनि महासंघले जोड दिएको छ।
नेपाल उद्योग व्यापार महासंघले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक, उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँग ऐक्यबद्धता व्यक्त गर्दै सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend