काठमाडौं । सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको आरोप लगाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगार व्यवसाय नै ठप्प पार्ने निर्णय गरेको छ। सङ्घको निर्णयसँगै सोमबारदेखि देशभरका म्यानपावर कम्पनीका कार्यालय बन्द हुनेछन् भने श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने नियमित प्रक्रिया समेत प्रभावित हुने भएको छ।
व्यवसायीहरूले आन्दोलनलाई निर्णायक चरणमा पुर्याउँदै नयाँ श्रमिकको विज्ञापनदेखि अन्तर्वार्ता, रिक्रुटिङ, भिसा स्ट्याम्पिङ तथा श्रम स्वीकृतिसँग सम्बन्धित प्रक्रियासमेत रोक्ने घोषणा गरेका हुन्। यसअघि आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङ रोकिँदै आएको थियो।
प्रक्रिया पूरा भइसकेका श्रमिकलाई भने निर्धारित समयभित्र वैदेशिक रोजगारीका लागि उडान गराउन व्यवसायीहरूले समय दिएका थिए। सङ्घले दिएको समयसीमा आइतबार राति १२ बजे समाप्त भएसँगै सोमबारबाट बाँकी सबै काम बन्द गर्ने निर्णय गरेको जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकलाई समयमै उडान गराउन एक साताअघि नै देशभरका म्यानपावर कम्पनीलाई सर्कुलर गरिएको थियो। सोहीअनुसार आइतबार राति १२ बजेसम्म उडान भएका श्रमिकबाहेक त्यसपछि नयाँ उडान प्रक्रिया अघि नबढाइने उनले बताए।
व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका मागका विषयमा सरकारसँग छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको बताएका छन्। गत शुक्रबार श्रम मन्त्रालयको टोलीसँग प्रारम्भिक छलफल भए पनि माग सम्बोधन गर्ने विषयमा स्पष्ट सहमति हुन नसकेको सङ्घको भनाइ छ।
मन्त्रिस्तरमा वार्ता हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले सरकार समस्या समाधानप्रति गम्भीर नदेखिएको आरोप लगाएका छन्। आफूहरूले पटक–पटक समस्या समाधानका लागि पहल गरे पनि ठोस निर्णय नआएपछि आन्दोलनलाई थप कडा बनाउनु परेको उनीहरूको भनाइ छ।
सङ्घका महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई व्यवसायीहरूको पेसागत अस्तित्व, अधिकार, सम्मान र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा व्याख्या गरिएको छ। माग सम्बोधन हुने स्पष्ट आधार नबनेसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने चेतावनीसमेत सङ्घले दिएको छ।
सङ्घको निर्णयअनुसार काठमाडौंमा रहेका मुख्य कार्यालयदेखि देशभरका शाखा कार्यालयसमेत बन्द रहनेछन्। कार्यालय बन्दसँगै नयाँ श्रमिकको विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ, भिसा प्रक्रिया, उडान व्यवस्थापन तथा वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न प्रशासनिक काम प्रभावित हुनेछन्।
यद्यपि सरकारसँग वार्ताका लागि ढोका खुला राखिएको सङ्घले जनाएको छ। तर वार्ताबाट ठोस निर्णय भई कार्यान्वयनको सुनिश्चित आधार नआएसम्म काममा नफर्कने व्यवसायीहरूको अडान छ।
आन्दोलनलाई प्रभावकारी बनाउन सङ्घले आफ्ना सदस्य संस्थालाई निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट व्यवसाय सञ्चालन नगर्नसमेत निर्देशन दिएको छ। आन्दोलन उल्लङ्घन गर्ने संस्थालाई सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गर्ने र आगामी समीक्षा भेलाबाट आवश्यक कारबाही अघि बढाउने चेतावनी दिइएको छ।
म्यानपावर व्यवसायीहरूको आन्दोलन लम्बिँदै गएमा यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीको तयारीमा रहेका श्रमिकमाथि पर्ने देखिएको छ। विशेषगरी नयाँ श्रम स्वीकृति, भिसा प्रक्रिया, अन्तर्वार्ता, रिक्रुटिङ तथा उडान व्यवस्थापनमा अवरोध हुँदा विदेश जाने तयारीमा रहेका हजारौँ श्रमिक प्रभावित हुन सक्नेछन्।
सरकार र व्यवसायीबीच तत्काल संवादमार्फत समाधान नखोजिए आन्दोलनको असर वैदेशिक रोजगारीको समग्र प्रक्रियामा थप गहिरिँदै जाने सम्भावना छ। एकातर्फ व्यवसायीहरू आफ्ना माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा छन् भने अर्कोतर्फ वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका श्रमिक भने अनिश्चितताको मारमा पर्ने जोखिममा छन्।
अब सरकार र व्यवसायीबीचको वार्ता नै वैदेशिक रोजगार क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउने मुख्य बाटो बनेको छ। माग, अधिकार र व्यवसायिक हितका विषयमा समाधान खोज्दै श्रमिकको रोजगारीको अवसरसमेत प्रभावित नहुने गरी तत्काल निकास निकाल्नुपर्ने अवस्था देखिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend