बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सरकार र सत्ता एउटै होइन, भ्रमको पछि नलागौँ : टेकबहादुर पुन मगर

सरकार र सत्ता एउटै होइन, भ्रमको पछि नलागौँ : टेकबहादुर पुन मगर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले दिएको अभूतपूर्व जनमतपछि रास्वपाको नेतृत्वमा सरकार गठन भएको उल्लेख गर्दै रास्वपा नेता तथा महाधिवेशन प्रतिनिधि टेकबहादुर पुन मगरले सरकार बन्नु र राज्यसत्ताका सम्पूर्ण संयन्त्र आफ्नो नियन्त्रणमा आउनु एउटै कुरा नभएको बताएका छन् ।

पुन मगरले रास्वपा सरकार गठन भएपछि तत्कालै सबै क्षेत्रमा परिवर्तन नदेखिएको भन्दै सरकारमाथि मात्र प्रश्न उठाउनु उचित नहुने धारणा राखेका छन् । उनका अनुसार नेपालको राज्य संरचना केन्द्र सरकार, मन्त्री र मन्त्रिपरिषद्मा मात्र सीमित नभई स्थायी प्रशासनिक संयन्त्र, संवैधानिक निकाय, विभिन्न आयोग, सुरक्षा संयन्त्र, न्यायिक तथा प्रशासनिक संरचना, प्रदेश सरकार, स्थानीय तहलगायतका संस्थासम्म फैलिएको छ ।

उनले विगतमा लामो समयसम्म सत्तामा रहेका राजनीतिक दलहरूले राज्यका विभिन्न संरचनामा राजनीतिक प्रभाव र भागबन्डाको संस्कृति विकास गरेको दाबी गर्दै त्यसको प्रभाव अहिले पनि विभिन्न निकायमा रहेको बताएका छन् । सरकार परिवर्तन हुँदैमा ती सबै संरचना एकै दिन परिवर्तन नहुने उनको भनाइ छ ।

पुन मगरले संवैधानिक निकायमा विगतका सरकारहरूले गरेका नियुक्ति तथा पदाधिकारीहरूको आफ्नै संवैधानिक व्यवस्था र कार्यकाल हुने भएकाले सरकार परिवर्तनसँगै उनीहरू तत्काल परिवर्तन नहुने बताए । त्यसैगरी विदेशस्थित नेपाली नियोग तथा अन्य प्रशासनिक संरचना पनि लामो समयदेखि कायम रहेको प्रणालीअनुसार सञ्चालन भइरहेकाले तिनमा तत्कालै व्यापक परिवर्तन सम्भव नहुने उनको तर्क छ ।

केन्द्रमा रास्वपाको सरकार बने पनि प्रदेश तथा स्थानीय तहको अवस्था फरक रहेको उनले बताए । देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशमा रास्वपाको नेतृत्व नरहेको उल्लेख गर्दै पुन मगरले केन्द्रमा सरकार गठन हुँदैमा सबै तह र राज्यका सम्पूर्ण संयन्त्र रास्वपाको नियन्त्रणमा रहेको बुझाइ गलत हुने बताए ।

उनले सरकारको जिम्मेवारीबाट रास्वपा भाग्न नहुनेमा समेत जोड दिएका छन् । जनताले दिएको जनादेशअनुसार सरकारले काम गर्नुपर्ने, परिणाम दिनुपर्ने र आफ्ना कमजोरीप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ । साथै, सरकारका गलत निर्णय वा कमजोरीको आलोचना गर्न र आवश्यक सुधारका लागि दबाब दिन रास्वपा कार्यकर्ता आफैँ सचेत हुनुपर्ने उनले बताए ।

“हामी रास्वपाका कार्यकर्ता भएकाले अन्धसमर्थक बन्ने होइन, सचेत पहरेदार बन्ने हो,” पुन मगरले भनेका छन् । उनका अनुसार सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र गलत काम गर्दा त्यसलाई सच्याउन दबाब दिने संस्कार पार्टीभित्र विकास हुनुपर्छ ।

सरकारका काममा अवरोध सिर्जना गर्ने, गलत सूचना फैलाउने वा तथ्यहीन प्रचारमार्फत जनतामा निराशा पैदा गर्ने प्रयास भए त्यसको पनि तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्नुपर्ने उनले बताएका छन् । तर सरकारलाई असफल बनाउने नाममा कुनै पनि गलत सूचना वा भ्रमको पछि लाग्न नहुने उनको धारणा छ ।

रास्वपाले पाएको जनमत सामान्य राजनीतिक अवसर नभएको उल्लेख गर्दै पुन मगरले यो जनादेश लामो समयदेखि पुराना राजनीतिक दल र शासन प्रणालीप्रति देखिएको जनअसन्तुष्टि तथा परिवर्तनको चाहनाको परिणाम भएको बताए । त्यसैले रास्वपा सरकारसँग जनताको ठूलो अपेक्षा रहेकाले सरकार असफल हुने छुट नरहेको उनको भनाइ छ ।

उनले वास्तविक परिवर्तनका लागि प्रधानमन्त्री, मन्त्री र मन्त्रिपरिषद्को प्रयास मात्र पर्याप्त नहुने बताएका छन् । राज्यका सबै संरचनालाई जनमुखी, पारदर्शी, निष्पक्ष र राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

“रास्वपा सरकारमा छ, तर राज्यका सबै पुराना संरचना र शक्ति केन्द्रहरू रास्वपाको हातमा छैनन् । सरकार र सत्ता एउटै कुरा होइन,” पुन मगरको भनाइ छ ।

उनले जनताले सरकारका कामको मूल्याङ्कन गर्न, प्रश्न गर्न र कमजोरी सच्याउन दबाब दिनुपर्ने भए पनि तथ्य नबुझी भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । जनादेशको सम्मान गर्दै सरकारलाई काम गर्ने वातावरण बनाउनुपर्ने र सही कामको समर्थन तथा गलत कामको विरोध गर्दै परिवर्तनको पक्षमा सचेत भएर उभिनुपर्ने उनको अपिल छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend