ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुरले नेपाली विद्यार्थीलाई भारतमा उच्च शिक्षा अध्ययनका अवसर, विश्वविद्यालय तथा विभिन्न शैक्षिक कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले सूचना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
ललितपुरको मानभवनस्थित थसाङ घरमा सोमबार (११ अगस्ट २०२६) आयोजित कार्यक्रममा भारतका विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थी तथा अभिभावकलाई भारतमा उपलब्ध उच्च शिक्षा, विभिन्न शैक्षिक कार्यक्रम, विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया तथा अध्ययनपछि उपलब्ध करिअरका सम्भावनाबारे जानकारी दिएका थिए।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका कार्यसमिति सदस्य तथा अध्ययन भारत विभाग प्रमुख शिवप्रसाद अर्याल, हिन्दुस्तान एजुकेसनल इन्स्टिच्युसन्सका जनसम्पर्क अधिकृत श्याम शर्मा एस. लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा भारतका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा उपलब्ध अध्ययनका अवसर, विषय छनोट, भर्नाका लागि आवश्यक प्रक्रिया तथा विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा ध्यान दिनुपर्ने विषयबारे सहभागीहरूबीच अन्तरक्रिया भएको थियो। विद्यार्थी तथा अभिभावकले भारतमा अध्ययनका लागि उपलब्ध विभिन्न विकल्पबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए।
कार्यक्रममा सहभागी शैक्षिक परामर्श संस्था तथा प्रतिनिधिहरूप्रति नेपाल शैक्षिक परामर्श संघ ललितपुर शाखाका अध्यक्ष सनम कुमार महर्जनले धन्यवाद व्यक्त गरे। उनले विद्यार्थीले विदेशमा उच्च शिक्षा अध्ययन गर्ने निर्णय गर्दा सही र विश्वसनीय सूचना प्राप्त गर्नु महत्वपूर्ण हुने बताए।
महर्जनले भारत नेपाली विद्यार्थीका लागि भौगोलिक रूपमा नजिक तथा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनका अवसर उपलब्ध गराउने महत्वपूर्ण गन्तव्यका रूपमा रहेको उल्लेख गर्दै विश्वविद्यालय छनोटदेखि अध्ययन तथा भविष्यको करिअर योजनासम्म विद्यार्थीलाई आवश्यक जानकारी उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
नेपाल शैक्षिक परामर्श संघ ललितपुरले विद्यार्थी तथा अभिभावकलाई उच्च शिक्षा अध्ययनका लागि आवश्यक सूचना र परामर्श उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सूचना तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल शैक्षिक परामर्श संघ ललितपुरका महासचिव विनोद भट्टाराईले गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend