बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन : कोषाध्यक्षमा बिनोद केसीको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन : कोषाध्यक्षमा बिनोद केसीको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशनका लागि व्यवसायी बिनोद केसीले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले भदौ २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै व्यवसायीहरूको साथ, सहयोग र विश्वासको अपेक्षासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै केसीले उद्योगी–व्यवसायीबीच समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवसायिक हकहितको संरक्षण, क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आफू सक्रिय रूपमा लाग्ने उनको भनाइ छ।
उनले पोखरा उद्योग वाणिज्य संघको गरिमा अभिवृद्धि गर्दै समग्र व्यावसायिक वातावरणलाई थप सुदृढ बनाउन विशेष पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्। पदको गरिमा र जिम्मेवारीलाई आत्मसात गर्दै सम्पूर्ण व्यवसायीको साझा हितमा पारदर्शी, उत्तरदायी र परिणाममुखी ढंगले काम गर्ने उनको योजना रहेको छ।
केसीले आफ्नो चुनावी नाराका रूपमा “तपाईंको विश्वास, मेरो प्रतिबद्धता– व्यवसायीको साथ, समृद्धिको बाटो” लाई अघि सारेका छन्। साथै “एकता, सहकार्य, पारदर्शिता, जिम्मेवारी, समृद्ध व्यापार र समुन्नत पोखरा” लाई आफ्नो अभियानको मूल आधार बनाएका छन्।
व्यवसायिक अनुभव, इमानदारी र प्रतिबद्धतालाई आफ्नो मुख्य पूँजी रहेको उल्लेख गर्दै केसीले सम्पूर्ण उद्योगी–व्यवसायीसँग अमूल्य मत र सहयोगका लागि आग्रह गरेका छन्। उनले व्यवसायिक समुदायलाई अझ सशक्त, विश्वसनीय र समृद्ध बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते हुने तय भएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले व्यवसायीहरूबीच चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend