बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नाट्टाको अध्यक्ष पदमा युबिका भण्डारीको  उम्मेदवारी घोषणा

नाट्टाको अध्यक्ष पदमा युबिका भण्डारीको  उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई आधुनिक, पारदर्शी र व्यवसायीमैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेकी भण्डारीले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाको परिणाम नभई समग्र पर्यटन व्यवसायको साझा आवश्यकता भएको बताएकी छन्। “नाट्टालाई अब प्रतिक्रियात्मक होइन, दूरदृष्टिसहित योजना बनाएर अघि बढ्ने संस्थाका रूपमा विकास गर्नुपर्ने समय आएको छ,” भन्ने उनको सन्देश चुनावी अभियानको मुख्य आधार बनेको छ।
सन् २०२० देखि नाट्टाको कार्यसमितिमा संयुक्त कोषाध्यक्ष, सचिव हुँदै हाल महासचिवको जिम्मेवारी सम्हालिरहेकी भण्डारीले संस्थागत सुधार, आर्थिक अनुशासन र नीतिगत पैरवीमा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय पर्यटन मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै उनले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ।
शैक्षिक रूपमा पनि अब्बल मानिएकी भण्डारी वास्तुकलामा स्नातक हुन् भने कार्यकारी एमबीएमा उत्कृष्ट नतिजा हासिल गरेबापत राष्ट्रपतिबाट नेपाल विद्याभूषण ‘क’ तथा पोखरा विश्वविद्यालयबाट कुलपति स्वर्ण पदक प्राप्त गरिसकेकी छन्। हाल उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्स की प्रबन्ध निर्देशकका रूपमा कार्यरत छिन्।
उनले सार्वजनिक गरेका चुनावी एजेन्डामा नाट्टाको सञ्चार प्रणालीलाई प्रविधिमैत्री बनाउने, निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने, काठमाडौं केन्द्रित संरचनाबाट बाहिर निस्केर प्रदेशका पर्यटन व्यवसायीको आवाजलाई समान महत्व दिने, सरकारसँग प्रभावकारी नीतिगत समन्वय गर्ने तथा देशभरका पर्यटन उद्यमीका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
युएनडीपी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सातै प्रदेशका ७०० भन्दा बढी पर्यटनकर्मीलाई तालिम उपलब्ध गराउने अनुभवलाई पनि उनले आफ्नो नेतृत्व क्षमताको उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्।
आगामी साउन २९ गते हुने नाट्टा निर्वाचनलाई पर्यटन क्षेत्रको भावी दिशा तय गर्ने अवसरका रूपमा हेरिएको छ। यही कारण भण्डारीले आफ्नो अभियानलाई “अनुभव, विश्वास र परिवर्तन” को यात्राका रूपमा अघि बढाउँदै सदस्यहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएकी छन्।
अब चुनावी मैदानमा सदस्यहरूको विश्वास कसले जित्छ भन्ने निर्णय मतपेटिकाले गर्नेछ। तर युबिका भण्डारीको उम्मेदवारीले भने नाट्टा निर्वाचनलाई नयाँ बहस, नयाँ सोच र परिवर्तनको एजेन्डासहित थप प्रतिस्पर्धात्मक बनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend