सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वका लागि प्रल्हाद तिमल्सिनाको उम्मेदवारी, व्यवसायी हितका एजेण्डा सार्वजनिक

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वका लागि प्रल्हाद तिमल्सिनाको उम्मेदवारी, व्यवसायी हितका एजेण्डा सार्वजनिक

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको आगामी नेतृत्व चयनका लागि आज भइरहेको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रल्हाद तिमल्सिनाले पेट्रोलियम व्यवसायीको हक, हित र समृद्धिलाई केन्द्रमा राख्दै आफ्ना प्रमुख एजेण्डा सार्वजनिक गरेका छन्।
आज सम्पन्न उद्घाटन सत्रपछि बन्दसत्र जारी रहेको छ भने त्यसलगत्तै नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ। अध्यक्ष पदमा प्रल्हाद तिमल्सिना र ईश्वर लामा प्रतिस्पर्धामा छन्।
खबर ब्रेकिङसँगको कुराकानीमा उम्मेदवार तिमल्सिनाले आफ्नो नेतृत्वको मूल नारा “एकता, विश्वास, विकास—हाम्रो साझा प्रयास” रहेको बताउँदै व्यवसायीका साझा समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पेट्रोलियम व्यवसायीले लामो समयदेखि उठाउँदै आएका मागलाई प्राथमिकतामा राख्दै वास्तविक व्यवसायिक लागतका आधारमा कमिसन वृद्धि गराउन पहल गर्ने बताए। साथै, व्यवसायीलाई ठूलो आर्थिक भार बनिरहेको वर्किड लस (Working Loss) को समस्या समाधान गरी व्यवसायलाई दिगो र मर्यादित बनाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
तिमल्सिनाले अव्यावहारिक कर, जरिवाना तथा जाँच प्रक्रियामा सुधारका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने, कानुनी सुरक्षा सुनिश्चित गर्दै डिलर्सका अधिकारको संरक्षण गर्ने तथा सुरक्षित र व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने बताए।
उनका अनुसार संगठनलाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउँदै डिलर्सबीचको एकतालाई अझ मजबुत बनाइनेछ। व्यवसायिक क्षमता अभिवृद्धिका लागि नियमित तालिम, सूचना प्रवाह तथा नवीन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने योजना पनि उनले अघि सारे।
यस्तै, सरकार, नेपाल आयल निगम तथा अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी व्यवसायीका समस्या समाधान र अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।
आज हुने निर्वाचनबाट बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ नेतृत्व चयन हुने भएकाले व्यवसायीहरूको विशेष चासो यस अधिवेशनमा केन्द्रित भएको छ। अध्यक्ष पदमा प्रल्हाद तिमल्सिना र ईश्वर लामाबीच हुने प्रतिस्पर्धालाई एशोसिएशनको आगामी नेतृत्वका लागि महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend