काठमाडौं । ज्योति साहित्य प्रतिष्ठान, काठमाडौंको आयोजनामा कवि मणिराज सिंहद्वारा सिर्जित आठौँ कृति ‘लोकतन्त्रको अस्मिता’ राष्ट्रिय वाणिज्य बैंक, दरबारमार्गस्थित सभाहलमा आयोजित एक विशेष समारोहबीच भव्य रूपमा लोकार्पण गरिएको छ।प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वकवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवस प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा डा. तुलसी भट्टराई, शिखर कवि शैलेन्द्र साकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. विष्णुविभु घिमिरे, समीक्षक प्रा. डा. भरतकुमार भट्टराई, हिरण्यकुमारी पाठक, राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, डा. रमेश शुभेच्छु तथा राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष दिनेशविक्रम थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी वरिष्ठ साहित्यकारहरू पुष्कर लोहनी, प्रा. डा. विष्णुहरि नेपाल, ज्ञानुवाकर पौडेल, उषा शेरचन, डा. बमबहादुर थापा ‘जिताली’, प्रा. युयुत्सु शर्मा तथा रविन्द्र आशिष शैली लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष दिनेशविक्रम थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसपछि लोकार्पित कृति ‘लोकतन्त्रको अस्मिता’ माथि प्रा. डा. भरतकुमार भट्टराईले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कृति बिम्ब, प्रतीक र अलङ्कारका दृष्टिले अत्यन्त सशक्त र उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य अवस्था अनुकूल नभए पनि मणिराज सिंह साहित्यिक सिर्जना, साहित्यिक संस्था सञ्चालन तथा साहित्य सेवामा निरन्तर सक्रिय रहनुभएको उल्लेख गर्दै यो कृति उहाँको उत्कृष्ट उपलब्धिमध्ये एक भएको बताउनुभयो। साथै, भविष्यमा पनि यस्तै उत्कृष्ट कृतिहरू प्रकाशित भइरहून् भन्ने शुभेच्छा व्यक्त गर्दै सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। कार्यक्रममा मुक्तक साम्राज्ञी उषा शेरचनले ‘लोकतन्त्रको अस्मिता’ बाट एक कविता वाचन गर्नुभएको थियो।
शिखर कवि शैलेन्द्र साकारले मणिराज सिंहका कविताहरू सूक्ष्म संवेदना र सौन्दर्यचेतनाका सशक्त स्वर भएको उल्लेख गर्दै उहाँ नेपाली काव्य–आकाशका उज्ज्वल र उदाहरणीय कवि भएको धारणा राख्नुभयो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. विष्णुविभु घिमिरेले मणिराज सिंह बिम्बप्रधान शैलीका बौद्धिक कविता लेख्दै आफू मात्र नभई नयाँ पुस्तालाई पनि साहित्यकर्ममा प्रेरित गराउँदै आएको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा युवा कविहरू सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी तथा बुद्धिमान महर्जनले ‘लोकतन्त्रको अस्मिता’ बाट एक–एक कविता वाचन गर्नुभयो। डा. रमेश शुभेच्छुले मणिराज सिंहमा प्रखर कवित्वशक्ति रहेको उल्लेख गर्दै भाव, भाषा र शैलीका दृष्टिले कृति उच्चस्तरीय भएको बताउनुभयो।डा. तुलसी भट्टराईले शारीरिक अस्वस्थताका बाबजुद पनि मणिराज सिंह साहित्यिक सिर्जना, संस्थागत नेतृत्व र नयाँ स्रष्टाहरूलाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहनुभएकोमा प्रशंसा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि विश्वकवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले कृतिको साहित्यिक महत्त्व, लोकतान्त्रिक चेतना र समकालीन सान्दर्भिकताबारे आफ्ना धारणा व्यक्त गर्दै मणिराज सिंह विचारको अग्निशिखा बोकेर हिँड्ने सचेत कवि भएको बताउनुभयो। उहाँले सिंहले कवितालाई कोठाको विलासिताबाट निकालेर सडकको यथार्थ र जनजीवनको धड्कनसम्म पुर्याएको उल्लेख गर्दै ‘लोकतन्त्रको अस्मिता’ समकालीन नेपाली साहित्य–आकाशमा ध्रुवताराझैँ उज्यालो उपस्थितिका रूपमा देखापरेको टिप्पणी गर्नुभयो। कार्यक्रममा रचिता दाहाल, सुनिता अधिकारी, योगाज राजन कविराज, बुद्धिमान महर्जन तथा उषा शेरचनले कविता वाचन गरी समारोहलाई थप साहित्यिक र गरिमामय बनाएका थिए।
यस अवसरमा ‘नेपाली सरोकार’ मासिककी प्रकाशक तथा सम्पादक रमा वली र गृष्मा ग्राफिक प्रेसका अध्यक्ष घननारायण श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो। साथै प्रमुख अतिथि, विशिष्ट अतिथि, कविता वाचन गर्ने कवि तथा सम्मानित स्रष्टासहित ४० जनालाई मायाको चिनो प्रदान गरिएको थियो। करिब १४० जना साहित्यकार तथा साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा हल बाहिरको वातावरण वर्षाको रिमझिम आनन्दसँगै साउन १५ को अवसर पारेर खीर, पुरी, अचार तथा तरकारी स्वादमा रमाउने समेत व्यवस्था गरिएको थियो। कार्यक्रमको सञ्चालन कवि अञ्चु सुवेदीले गर्नुभएको थियो भने अन्त्यमा सभाध्यक्ष मणिराज सिंहले उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार, कवि, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend