१५ भदौ, ललितपुर । सोपान फर्मास्युटिकल्स लिमिटेडले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। कम्पनीका अध्यक्ष डा. अनिल पोख्रेलको सभापतित्वमा आइतबार ललितपुरमा सम्पन्न सभाले सर्वसाधारणमा धितोपत्रको प्राथमिक निष्कासन (आईपिओ) गर्ने विशेष प्रस्ताव पनि पारित गरेको हो।
आईपिओ निष्कासनका लागि कम्पनीले अघिल्लो वर्ष नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। हाल कम्पनीको अधिकृत पूँजी रु. २ अर्ब तथा जारी पूँजी र चुक्ता पूँजी रु. १ अर्ब ७१ करोड ६० लाख कायम गरिने अध्यक्ष पोख्रेलले जानकारी दिएका छन्।
सोपान फर्मास्युटिकल्स अन्तर्गतको औषधि उद्योगले औषधि व्यवस्था विभागबाट १३६ वटा औषधिको उत्पादन अनुमति प्राप्त गरि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार (WHO-GMP Certification) उत्पादन गर्दै आएको छ। त्यस्तै, मेडिकल अक्सिजन ग्यास प्लान्टमार्फत प्रति घण्टा ३०० क्यूबिक मिटर अक्सिजन उत्पादन गरि बिक्री वितरण हुँदै आएको छ।
वित्तीय प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल संचालन आय रु. ५२ करोड २ लाख ७७ हजार ९१२ रहेको छ भने कर अघिको नाफा रु. २४ करोड १३ लाख ८ हजार ३८६ रहेको उल्लेख गरिएको छ।
साधारणसभामा कम्पनीको आगामी विस्तार योजना, उत्पादन क्षमतामा वृद्धि, बजार विस्तार तथा लगानीकर्तामैत्री नीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता अध्यक्ष पोख्रेलले व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend