सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इम्बुष्ड नम्बर प्लेट अनिवार्यतामा यातायात विज्ञ अधिकारीको कडा आपत्ति

इम्बुष्ड नम्बर प्लेट अनिवार्यतामा यातायात विज्ञ अधिकारीको कडा आपत्ति

१२ भदौ, काठमाडौं । सार्वजनिक यातायात केन्द्रिय महासंघका संस्थापक अध्यक्ष तथा यातायात विज्ञ होम  प्रसाद अधिकारीले सरकारले लागू गर्न खोजिरहेको इम्बुष्ड नम्बर प्लेट प्रणालीप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । आज बिहान खबरब्रेकिंग डटकमसँगको छोटो कुराकानीमा उहाँले असोज १ गतेदेखि सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सवारीसाधनमा अनिवार्य गर्ने निर्णय सरकारको अव्यवहारिक र हठी कदम भएको टिप्पणी गर्नुभयो ।

अधिकारीले देशमै आवश्यक प्राविधिक पूर्वाधारको अभाव हुँदा पनि विदेशी ठेकेदार कम्पनीमार्फत एकतर्फी ढंगले थोपारिएको यो प्रणालीले आम नागरिक र व्यवसायीलाई अतिरिक्त आर्थिक बोझमा धकेल्ने दाबी गर्नुभयो । उहाँका अनुसार, इम्बुष्ड नम्बर प्लेटमार्फत प्राप्त हुने सूचनाले व्यक्तिगत गोपनीयता र राष्ट्रिय सुरक्षा प्रणाली नै खतरामा पर्न सक्छ, जुन अत्यन्त गम्भीर विषय हो ।

“सर्वसाधारण नागरिकलाई परामर्श, छलफल र संवादविना जबर्जस्ती प्रणाली थोपर्नु सरकारको हठी निर्णय हो,” अधिकारीले भन्नुभयो, “यसलाई तत्काल स्थगित गर्नैपर्छ, अन्यथा प्रतिकूल परिस्थितिको सम्पूर्ण जिम्मेवारी मन्त्रालय र मातहतका निकायले लिनुपर्छ।”

उहाँले इम्बुष्ड नम्बर प्लेटले भ्रष्टाचार बढाउने, नागरिकलाई थप आर्थिक बोझ थोपर्ने र स्वाभिमानमाथि चोट पुर्‍याउने चेतावनी दिनुभयो । उहाँले अझै भन्नुभयो, “नम्बर प्लेट नेपाली पनमा हुनु पर्छ, विदेशी कम्पनीमार्फत गरिने यस्तो प्रयोगले दीर्घकालमा मुलुकको स्वाधीनता र नागरिक अधिकारमै खतरा ल्याउँछ।”

साथै, अधिकारीले सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी क्षेत्रका सम्पूर्ण सवारीसाधनमा जबर्जस्ती इम्बुष्ड नम्बर प्लेट जडान गराउने प्रयास गरे आन्दोलनको वातावरण सिर्जना हुने चेतावनीसमेत दिनुभयो । उहाँले नागरिक र व्यवसायीको आवाजलाई राज्यले बेवास्ता गर्न नहुने प्रष्ट पार्दै, तत्काल सरकारलाई पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend