९ भदौं,काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी टेक पुन मगरले हालैको शिक्षा विधेयकप्रति आफ्नो तीव्र असन्तोष प्रकट गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै निजी विद्यालय सञ्चालकहरूले देश र समाजप्रति गरेको योगदानलाई राज्यले नजरअन्दाज गर्दै, उल्टै निजी विद्यालयलाई अस्तित्व सङ्कटमा पार्ने प्रयास गरेको गुनासो गरेका छन्।
मगरले भनेका छन्, “देशको जिम्मा अरुलाई, शिक्षाको जिम्मा देशलाई भनेर टेबलमा बसेर गफिने जस्तो सजिलो हुँदैन। माननीयज्यूहरूले शिक्षा, स्वास्थ्य वा सामाजिक सुरक्षाको जिम्मा लिनुहुन्छ भने, म मेरो २० वर्षको पेशा र सम्पूर्ण लगानी सरकारलाई सुम्पिन्छु। तर सरकारी विद्यालयको स्तर उकास्न नसक्ने अवस्थामा निजी विद्यालयलाई अनावश्यक दवाव दिइनु कहाँको न्याय हो?”
उनले निजी विद्यालय कम्पनीअन्तर्गत दर्ता भएर नाफा–घाटाको आधारमा आफैं निर्णय गर्ने अधिकार हुने बताउँदै सरकारी भत्ता पचाएर अनावश्यक आलोचना गर्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखेका छन्। “हामीले तिर्नुपर्ने कर तिरेकै छौं, छात्रवृत्ति सरकारले तोकेभन्दा अझ बढी दिएका छौं। हामीले निम्न वर्गका धेरै विद्यार्थीलाई पढाएका छौं। हाम्रो टाउको दुखाइ ठूलो होइन, बस हाम्रो अचल सम्पत्तिको उचित मुआब्जा दिनुपर्छ,” मगरले भनेका छन्।
साथै उनले शिक्षा व्यवसायलाई दमन गर्ने अभियान भ्रष्टाचार गरेर सम्पत्ति जम्मा गर्नेहरूलाई मात्र फाइदा पुग्ने खालको भएको टिप्पणी गरे। “हामीले लगानी मात्र होइन, जवानी र जीवन पनि शिक्षामै सुम्पेका हौं। सहकारी ढले, बैंक हल्लिँदै छ, अब शिक्षा पनि सकाउने हो भने के बाँकी रहन्छ? पैसा र दोहोरो नागरिकता भएकाले सजिलै देश छोड्न सक्नेहरूलाई के फरक पर्छ र?” उनले प्रश्न गरेका छन्।
मगरले व्यङ्ग्यात्मक शैलीमा अहिलेको अवस्थालाई ‘समाजवाद, बर्बादवाद, नाग्गोवाद र शुन्यवाद’को मिश्रण भन्दै व्याख्या गरेका छन्। उनले चेतावनी दिंदै भनेका छन्, “देशै सकिँदै गएको छ, अब शिक्षा विधेयकको बहानामा हामीजस्ता लगानीकर्ताको भविष्य र देशको शिक्षाको भविष्य नै संकटमा पार्न पाइँदैन।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend