४ भदौ , काठमाडौं । नेकपा माओवादी केन्द्र , रास्वपा लगायतका विपक्षी दलहरुले सत्तापक्षले निरंकुश र दुराशयको सोचले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेको निष्कर्ष निकालेको छ। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको बैठकले उपसभामुखलाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि सरकारमा रहेका पार्टीहरूले चालेको यस्तो कदमको भर्त्सना गरेको छ।
बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘यो घटनाले निरंकुशता र दुराशयलाई नाङ्गो पारेको छ । यसले लोकतन्त्रको धज्जी उडाएको छ । यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषद्मा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।’ सरकारको यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाउँदै लगेको बैठकले निष्कर्ष निकालेको उनले बताए।
लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चाहने सबैले तात्कालिक निहित स्वार्थभन्दा माथि उठेर यस्तो यस प्रकारको गलत कार्यलाई असफल पार्न एकजुट हुनु पर्ने आवश्यकता रहेको बैठकले निचोड निकालेको छ। सरकारमा रहेका पार्टीहरूले चालेको कदमको भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आव्हान समेत गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend