३१ साउन सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार साँझ भएको गोली प्रहारमा ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार यादवलाई अज्ञात व्यक्तिले टाउकोमा गोली हानी भागेको पुष्टि भएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले दिएको जानकारीअनुसार यादव आफ्नै घरको आँगनमा छरछिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले नजिकै आएर ‘रामपुकार को हो’ भनी सोधपुछ गरेपछि पेस्तोलबाट गोली प्रहार गरेका थिए।
गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको सोनामा गाउँपालिका–स्थित पर्सा गाउँको स्वास्थ्य संस्थामा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह भाग्दै गर्दा हरिपुर्वा नगरपालिका अन्तर्गत बसन्तपुरमा दुर्घटनामा परेको थियो। घटनामा संलग्न दुई जनामध्ये एक फरार छन् भने अर्का घाइते पक्राउ परेका र हाल जनकपुरमा प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरूको पहिचान भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
मृतक यादव विगतमा सर्लाही सदरमुकाम मलङ्गवास्थित निजी विद्यालयमा अध्यापन पेशामा संलग्न भए पनि हाल खेती किसानी गर्दै आएका थिए। साथै उनले गाउँमा केही रकम ऋण लगानी गरेको स्थानीयहरूले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend