साउन ३०,काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को केन्द्रीय कार्यसमिति निर्वाचन नजिकिँदै जाँदा पर्यटन क्षेत्र राजनीतिक रंगमा रंगिएको छ । निर्वाचन समितिले आगामी भदौ ७ गतेका लागि मिति तोकेसँगै उम्मेदवार र समर्थकहरू प्रचार–प्रसारमा तातिएका छन् । यसपटक पनि दुई ठूला प्यानलबीच प्रत्यक्ष टक्कर हुने पक्का देखिएको छ—एकतर्फ नेकपा एमाले र नेपाली कांग्रेस निकट व्यवसायीहरूको गठबन्धन, अर्को तर्फ नेकपा माओवादी केन्द्र निकट तथा एमालेकै अर्को समूहको मोर्चा।
निर्वाचन कार्यक्रम अनुसार अध्यक्षदेखि महासचिव, सचिव, कोषाध्यक्ष र १७ सदस्यसम्मका पदमा भदौ ७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ। संघमा आबद्ध पर्वतारोही र पर्यटन मजदुरको प्रतिनिधित्व हुने चार सदस्यका लागि भने भदौ ८ गते छुट्टै मतदान गरिनेछ।

एमाले र कांग्रेसको संयुक्त टोलीले अध्यक्षका रूपमा पर्यटन व्यवसायी कुलबहादुर गुरुङलाई अघि सारेको छ। वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा, र कोषाध्यक्षमा सुनी लामा रहेका छन्। सदस्य सूचिमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा छन्।

अर्कोतर्फ, नेकपा माओवादी केन्द्रसँग नजिकका तथा एमालेको भिन्न धारमा रहेका व्यवसायीहरूले फुर गेल्जे शेर्पाको नेतृत्वमा चुनावी यात्रा सुरु गरेका छन्। यस टोलीका वरिष्ठ उपाध्यक्ष ईश्वर पौडेल, प्रथम उपाध्यक्ष काजी शेर्पा, द्वितीय उपाध्यक्ष बोधराज भण्डारी, महासचिव राजेन्द्रबहादुर लामा, सचिव चन्दन थापा, कोषाध्यक्ष ङिमा नुर्ब शेर्पा हुन्। सदस्यहरूमा डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, देण्डी शेर्पा, गोकुल थापा, विक्रम कार्की, थुप्देन शेर्पा, मुलाल गुरुङ, माधवकुमार धमाल, रिन्जे शेर्पा र देवेन्द्र डंगोल छन्।
अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने दुवै उम्मेदवार पर्यटन क्षेत्रमा अनुभवी र स्थापित छन्। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ का फुर गेल्जे शेर्पा बाल्यकालदेखि नै ट्रेकिङ र पर्वतारोहणमा सक्रिय रहँदै आएका छन्। आफ्नै कम्पनी स्थापना गरेर व्यावसायिक यात्रा सुरु गरेका उनले ६ हजार मिटरभन्दा माथिका शिखर चुमेका छन्। १९९९ देखि २००२ सम्म एनएमएमा कार्यसमिति सदस्य र विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी समाजसेवा र उद्धार कार्यमा पनि परिचित छन्।
धादिङको रुबीभ्यालीका कुलबहादुर गुरुङ विगत ३५ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन्। सन् १९९२ देखि पर्वतीय पर्यटनमा सक्रिय रहेका उनले एलायन्स ट्रेक्स एण्ड एक्स्पेडिसन प्रालिका प्रबन्ध निर्देशकका रूपमा काम गर्दै एनएमएका महासचिव, टानका उपाध्यक्ष र केन्द्रीय सदस्यको भूमिका निभाइसकेका छन्। गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनको विकास र विस्तारका लागि नीति निर्माण तहमा सक्रिय लबिङ गर्दै आएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend