सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

यसरी बनाउन सकिन्छ पुराना घरलाई भूकम्प प्रतिरोधी

यसरी बनाउन सकिन्छ पुराना घरलाई भूकम्प प्रतिरोधी

काठमाडौं ४, भदौ । बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ । घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि गरिने रेट्रोफिटिंग प्रविधिलाई सेस्मिक रेट्रोफिटिंग भनिन्छ ।

के हो सेस्मिक रेट्रोफिटिंग ?

सेस्मिक रेट्रोफिटिंग भनेको बनिसकेका र पुराना संरचनालाई परिमार्जन गरेर उक्त संरचनालाई भूकम्पको जोखिमबाट प्रतिरोधी बनाउन गरिने प्रक्रिया हो । सुरुवाती समयमा यो प्रविधि पुल, सडक र अन्य ठूला संरचनालाई थप आयु र सुरक्षा दिनका लागि प्रयोग गरिएको थियो । पछिलो समयमा पुराना र कम्जोर गरेर बनाइएका घरलाई सुरक्षित बनाउनका लागि घरहरुमा पनि रेट्रोफिटिंग गर्न थालियो ।

आवासीय रेट्रोफिटिंग

घरलाई रेट्रोफिट गरेर भूकम्प प्रतिरोधी बनाउने पक्रियालाई आवासीय रेट्रोफिटिंग भनिन्छ । यस रेट्रोफिटिंगमा पर्ने प्रविधि र प्रक्रियालाई धेरै पहिले देखि नै नेपालका पुराना संरचना – जस्तै मन्दिर, दरबार आदिहरुलाई सुरक्षित गर्नका लागि प्रयोग गर्दै आइएको छ ।

नेपाल एक उच्च भूकम्पीय जोखिममा भएको राष्ट्र हुनाले र नेपालका अधिकांस घरहरु पुराना भएका र भूकम्प प्रतिरोधी नभएकाले नेपालका लागि रेट्रोफिटिंग एक राम्रो विकल्प बन्न सक्छ ।

कस्तो अवस्थामा काम लाग्छ रेट्रोफिटिंग ?

बेठीक तवरले बनाइएको घरलाई मिलाउन

पुराना घरको प्रयोग आयु बढाउन र भूकम्प प्रतिरोधी बनाउन
घरको तला थप्ने बेलामा

आवासीय सेस्मिक रेट्रोफिटिंगका केहि तरिकाहरु

आवासीय घरहरु मुख्यत प्रबलित सिमेन्टबाट नै बनाइएका हुन्छन् र रेट्रोफिट गर्नका लागि सबैभन्दा प्रचलित तरिका ज्याकेटिंग हो ।

१. कंक्रिट ज्याकेटिंग

संरचनाको पिलर र बिमलाई बलियो बनाउनका लागि प्रयोग गरिने सबैभन्दा प्रचलित विधि हो – कंक्रिट ज्याकेटिंग र यो बिधिमा घरमा भइरहेको बिम र पिलरलाई पुनः स्टिलले बारेर कंक्रिटले भरिनछ ।

यदि पुराना घरका बिम र पिलरहरु साना र कमजोर छन् भने यस विधिबाट चौडा र बलियो बनाउन सकिन्छ । बिममा गरिएको कंक्रिट ज्याकेटिंगबाट घरको लचकता बढ्ने र समग्रमा घरको कठोरता बढ्ने छ ।

पिलरमा गरिएको कंक्रिट ज्याकेटिंगले घरको अक्षिय बल बढाउने छ । दुवैको प्रयोगबाट पुरानो घरलाई केहि हदसम्म भूकम्प प्रतिरोधी बनाउन सकिनेछ ।

२. स्टिल ज्याकेटिंग

घरको पिलर र बिमलाई स्टिलको ब्याण्ड र च्यानलहरुले ढाक्ने प्रक्रियालाई नै स्टिल ज्याकेटिंग भनिन्छ । घरका पिलरहरुलाई थप कठोरता दिन र अझै बढी बलियो बनाउनका लागि यस विधिको प्रयोग गर्न सकिन्छ । यस ज्याकेटिंग तरिकाबाट पिलर र बिमको आकार बढ्दैन ।

३. फाइबर प्रबलित पोलिमर ज्याकेटिंग

ज्याकेटिंग विधिहरु भरिमा सबैभन्दा अब्बल र नयाँ ज्याकेटिंग विधि हो फाइबर प्रबलित पोलिमर ज्याकेटिंग ।

यस ज्याकेटिंगमा प्रयोग हुने फाइबर पनि दुई किसिमका हुन्छन् कार्बन फाइबर र ग्लास फाइबर दुवै किसिमको फाइबर नै निकै टिकाउ, हलुका र बलिया हुन्छन् । यो विधि अन्य विधि भन्दा तुलनात्मक रुपमा सहज हुन्छ र स्टिलकोमा जस्तो खियाको डर पनि हुदैन ।

यस ज्याकेटिंगको प्रयोग स्टिल र बिममा मात्र सिमित नभएर भित्ता र स्ल्याबसम्म पनि फैलिएको छ । यसर्थ घरका अधिकतम कुराहरुलाई रेट्रोफिट गर्नका लागि फाइबर ज्याकेटिंग कै प्रयोग गर्न सकिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend