बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गाईजात्राको अवसरमा दिवंगत आफन्तको सम्झना गरिँदै

गाईजात्राको अवसरमा दिवंगत आफन्तको सम्झना गरिँदै

साउन ३१, भक्तपुर – तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि ७ दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व शुक्रवारदेखि शुरू भएको छ ।

दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि शुरू भएको हो ।

नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाइँदैछ ।
गाईजात्राको प्रमुख आकर्षण घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न भीड लागेको छ । आजको मुख्य जात्रापछि ७ दिनसम्म घिन्ताङकिसी नाच र व्यंग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।

जात्रा बिहानैबाट शुरू भएपनि मध्याह्नपछि जात्रा आकर्षक हुने टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने एवं विभिन्न नाच एवं व्यंग्य प्रदर्शन गर्ने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने तथा मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने संस्कृतकर्मी रामशेखर श्रेष्ठ बताउँछन् ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि गाईजात्रा शुरू भएको मान्यता छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend