मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

नायब सुब्बा हरिप्रसादले सुसाइड पत्रमा श्रीमतीलाई लेखे– दराजमा चेक छ, झिकेर चलाउनु

नायब सुब्बा हरिप्रसादले सुसाइड पत्रमा श्रीमतीलाई लेखे– दराजमा चेक छ, झिकेर चलाउनु

काठमाडौँ २७, साउन । कीर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको मुद्दा खेपिरहेका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्यको सुसाइड नोटमा विभिन्न सन्देश लेखेर छाडेको पाइएको छ । उदयपुर प्रहरीका अनुसार स्पाइरल नोट कपीको दुई पृष्ठमा आत्महत्याको कारणसहित विभिन्न सन्देश लेखेर छाडेका छन् ।

आचार्यले श्रीमतीलाई बैंकमा खासै पैसा नभएको पनि बताएपनि राष्ट्रिय वाणिज्य बैंक, एनसीसी र एनआईसीमा रहेको खाता हेर्न भन्दै चेक दराजमा राखेको र त्यसबाट झिकेर गुजरा चलाउन भनेका छन् । सुसाइड नोटमा छोरालाई स्नातक पढाउन नसकेकोमा पछुतो लागेको समेत उल्लेख गर्दै आफ्नो नाममा पुराण नलगाउन समेत भनेका छन् ।

उनले श्रीमतीलाई काठमाडौंमा कान्छो छोरासँग गएर बस्न भनेका छन् । उनले आफन्तसँग घरको भैंसी र खसी बिक्री गर्न सघाउन आग्रह पनि गरेका छन् । असह्य भएर आफूले आत्महत्याको बाटो रोजेको व्यहोरा समेत उनले लेखेका छन् ।

साविक बाडभञ्ज्याङ गाविस–३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको नाममा गराउनमा संलग्न देखिएको भन्दै मुद्दा अख्तियारले चलाएको थियो । उनीसँगै मुद्दा मालपोत अधिकृत शिवप्रसाद रिमाल, मिनाकुमारी थापा, रामकुमार सुयल थापा, दीपेन्द्रविक्रम शाह, बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध चलेको थियो ।

उनीहरुविरुद्ध सरकारी मूल्यांकनअनुसार दुई करोड २१ लाख १० हजार रुपैयाँ पर्ने सरकारी जग्गा हडप्ने उद्देश्यले गैरकानूनी काम गरेको अख्तियारको ठहर गरेको थियो ।

यसअघि त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डे र बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासु युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरिसकेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend