काठमाडौं १६, साउन । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको हो ।
रुपन्देहीको गैडहवा गाउँपालिका(२ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो । यद्यपि आगजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन ।
आगजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
आगजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्दै कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend