राम गैरे, २६ साउन,काठमाडौं । धार्मिक–आध्यात्मिक चिन्तनलाई जीवनको मूल आधार मानेका लेखक हरिभक्त सिग्देल ‘महेश’ नेपाली साहित्य र अध्यात्मको दुनियाँमा एक विशिष्ट नाम हुन्। हाल बुढानीलकण्ठ नगरपालिका–९, मण्डिखाटार, वरफेदी, काठमाडौंमा ‘हरिको घर’ नामक स्थायी वासस्थानमा बसोबास गर्दै आएका उनी वि.सं. २०११ साल वैशाख १ गते, मङ्गलवारका दिन पाँचमाने जीतपुर फेदी गाविस (हालको तारकेश्वर नगरपालिका–७) मा पिता खड्गध्वज (बलराम) सिग्देल र माता गङ्गादेवी सिग्देलको घरमा जन्मिएका हुन्।

शुरुका दिनमा पढाइप्रति खासै आकर्षण नदेखाएका सिग्देल समयक्रममा जीवनका उतार–चढावसँगै दृढ संकल्पका साथ शिक्षामा केन्द्रित भए र श्री ग्रामसेवा माध्यमिक विद्यालय, धर्मस्थली, काठमाडौंबाट औपचारिक अध्ययन प्रारम्भ गरेर त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट एम.पि.ए.सम्मको उच्च शैक्षिक डिग्री हासिल गर्न सफल भए।
पेशागत जीवन उनले प्रहरी सेवाबाट प्रारम्भ गरे, सामान्य पदबाट सुरु भएको यात्रा डि.एस.पी.को पदबाट अवकाशसम्म पुगेको हो। यस क्रममा उनले प्रबल गोरखा दक्षिण बाहु चौथादेखि संयुक्त राष्ट्रसंघ शान्ति सेवा पदकसम्मका दर्जनौँ विभूषण प्राप्त गरे। प्रहरी जीवनमा आधारभूत तालिमदेखि जुडो, कराँते, बक्सिङ, जिम्न्यास्टिक्स, स्टाफ कलेज हुँदै अमेरिकी ‘होस्टेज नेगोसिएसन’ तालिमसम्मका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय दक्षताहरू हासिल गरे।
उनको जीवनयात्रा नेपालका ५९ जिल्लादेखि भारत, मोजाम्बिक, मलावी, जिम्बाबे, जाम्बिया, तान्जानिया, इजिप्ट, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, रुस, बेलारुसलगायतका देशसम्म पुगेको छ।

उदार स्वभावका कारण उनी श्री वैद्यनाथक्षेत्र प्रकाशन समिति, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष, नोवेल साकोस साहित्य प्रतिष्ठान, सप्तरङ्गी साहित्य समाज, साहित्य सुधा नेपालसहित तेह्र संस्थामा आजीवन वा विशिष्ट सदस्यका रूपमा सक्रिय छन्। राष्ट्रिय महत्वका व्यक्तित्वबाट चार संस्थामार्फत कदरपत्र, आठ संस्थाबाट सम्मानपत्र, दुई संस्थाबाट प्रशंसा पत्र र दुई संस्थाबाट अभिनन्दनपत्र समेत प्राप्त गरेका छन्।

प्रारम्भिक पेशागत यात्रा ओखरपौवा प्राथमिक विद्यालय, नुवाकोटमा शिक्षकको रूपमा सुरु भए पनि उनको मुख्य योगदान प्रहरी क्षेत्रमा रह्यो। अवकाशपछि पनि उनी सक्रिय छन्—हाल मेडिकेयर अस्पताल, चावहिलमा प्रशासनिक प्रबन्धक र माछापुच्छ्रे बैंकमा सञ्चालकका रूपमा कार्यरत छन्।
साहित्यिक–आध्यात्मिक जगतमा उनले हालसम्म उनन्चालीसवटा पुस्तक प्रकाशित गरिसकेका छन्, जसमा प्रायः आध्यात्मिक विषयवस्तु केन्द्रमा रहेका छन्। नयाँ कृति ‘एकमात्र’ उनको चालिसौं पुस्तक हो, जसले सनातन हिन्दू धर्म दर्शन, अहिंसात्मक बौद्ध दर्शन, मुस्लिम धर्मदर्शनको दण्ड–पुरस्कार व्यवस्था, र समयसँगै प्रवाहमान क्रिश्चियन धर्मदर्शनलाई एकैसाथ समेटेको छ।

यस कृतिमा चारै धर्मका उत्पत्ति, विकास, दर्शन, सामाजिक सभ्यता, वैज्ञानिक मान्यता र तिनका प्रतीकात्मक व्यक्तित्वहरू—हिन्दूमा शिव, बौद्धमा बुद्ध, मुस्लिममा अल्लाह र क्रिश्चियनमा गड—लाई समग्र दृष्टिमा विश्लेषण गरिएको छ। लेखकको दृष्टिमा धर्मदर्शन मानवीय चेतनाको पौष्टिक आहार हो, जसको उद्देश्य जडभविताबाट चिद्भवितातर्फको यात्रा हो।

‘एकमात्र’ शीर्षकको यो कृति, फरक–फरक मार्ग र शब्दावली भए पनि अन्तिम गन्तव्य एउटै रहेको गहिरो सत्यलाई प्रस्तुत गर्छ। यही कारण यो ग्रन्थलाई उनले आफ्नो जीवनको आध्यात्मिक साधनाको मणिका र दर्शनको चुरोका रूपमा पाठकमाझ अर्पण गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend