२५ साउन,काठमाडौं । पोखरा विश्वविद्यालयले स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै शैक्षिक सत्रदेखि सुरु गर्ने भएको छ। विज्ञान तथा प्रविधि संकायका डिन सह–प्राध्यापक बुद्धिराज जोशीका अनुसार, विश्वविद्यालयले पाठ्यक्रम तयारी पूरा गरी पहिलोपटक यस विषयका लागि भर्ना खुलाएको हो।
जोशीका अनुसार, समयानुकूल नवीनतम् प्रविधियुक्त विषयको पठन–पाठन बढाउने योजनाअन्तर्गत मेकानिकल इञ्जिनियरिङ सुरु गर्न लागिएको हो। भर्ना समितिका संयोजक सह–प्रा. डा. सुरेश बरालका अनुसार, यसअघि विश्वविद्यालयमा सबै प्रमुख इञ्जिनियरिङ शाखाहरू भए पनि मेकानिकल इञ्जिनियरिङको अभाव थियो। हाल नेपालमा जलविद्युत्, ऊर्जा, डिजाइन, स्वचालन, म्यानुफ्याक्चरिङ र औद्योगिक क्षेत्रमा मेकानिकल इञ्जिनियरको माग बढिरहेको अवस्थालाई ध्यानमा राखी यो कार्यक्रम थालिएको हो।
नयाँ पाठ्यक्रमले परम्परागत विषयसँगै अटोमेसन र रोबोटिक्स, इण्डस्ट्री ४.०, मेसिन लर्निङजस्ता आधुनिक विषयहरू पनि समेटेको छ। विद्यार्थीले परियोजना–आधारित शिक्षण, प्रत्यक्ष अभ्यास, तथा उद्योगसँगको प्रत्यक्ष सम्पर्कमार्फत व्यावहारिक सीप हासिल गर्नेछन्। यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गरी नेपालको पूर्वाधार र प्रविधि विकासमा योगदान पुर्याउने लक्ष्य लिएको विश्वविद्यालयको भनाइ छ।
उप–प्राध्यापक ऋषभ खनालका अनुसार, चार वर्षमा आठ सेमेस्टरका १३० क्रेडिट आवर रहने यस कार्यक्रमको अध्ययन शुल्क रु ५ लाख ८७ हजार २०० तोकिएको छ। प्रारम्भिक वर्षमा इञ्जिनियरिङ ड्रइङ, थर्मोडायनामिक्स, मेकानिक्स, वर्कशप प्रविधि जस्ता आधारभूत विषय पढाइनेछन् भने पछिल्ला वर्षमा रोबोटिक्स, अटोमोटिभ प्रविधि, ऊर्जा तथा वातावरण, र डिजाइनसँग सम्बन्धित उन्नत विषयहरू पढाइनेछन्।
पाठ्यक्रममा तीन वैकल्पिक विषय, एक माइनर प्रोजेक्ट, दुई चरणमा मेजर प्रोजेक्ट, र १२ हप्ताको अनिवार्य इन्टर्नसीप समावेश छ। यसले विद्यार्थीलाई व्यावसायिक, अनुसन्धान तथा उद्यमशीलताको लागि सक्षम बनाउने लक्ष्य राखेको खनालले बताए। नेपालमा रोजगारीको सम्भावना उच्च रहेको यो विषय अन्तरराष्ट्रिय स्तरमा अटोमोटिभ, एयरोस्पेस, रोबोटिक्स र स्मार्ट म्यानुफ्याक्चरिङजस्ता क्षेत्रमा समेत अवसर दिने बताइएको छ।
यस विषयका लागि अनलाइन आवेदन खुला भइसकेको छ। आवेदन दिने अन्तिम मिति भदौ १२ र प्रवेश परीक्षा भदौ १३ मा हुने छ। केन्द्रीय क्याम्पसमा अध्यापन हुने यस कार्यक्रममा ४८ विद्यार्थी भर्ना हुने कोटा रहेको छ, जसमा नौ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने विश्वविद्यालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend