२३ साउन,,काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व नाफा आर्जन गर्दै इतिहासकै ठूलो वृद्धि गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५ हजार ८२९ प्रतिशतले वृद्धि भई २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो, जसले यो वर्षको उपलब्धिलाई झन् विशेष बनाएको छ।
ब्याज र सञ्चालन आम्दानीमा सुधार
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १० अर्ब ८० करोड ३३ लाख ४० हजार रुपैयाँ थियो। कुल सञ्चालन आम्दानी पनि १०.९७ प्रतिशतले वृद्धि भई १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफामा उल्लेखनीय सुधार हुँदै यो ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँमा पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि २७.४४ प्रतिशतले बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ पुगेको छ।
वितरणयोग्य नाफा अझै ऋणात्मक
नाफामा ऐतिहासिक उछाल भए पनि वितरणयोग्य नाफाको स्थिति भने सुधार हुन सकेको छैन। गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक रह्यो, जुन अघिल्लो वर्ष ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो।
पूँजी, निक्षेप र कर्जा प्रवाह
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ। निक्षेप संकलन ९.४६ प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। तर, कर्जा लगानी भने २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।
प्रतिसेयर आम्दानी र खराब कर्जा
नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ०.०२ रुपैयाँबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ। तर, अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ६.४२ प्रतिशत पुगेको छ। हाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७३ प्रतिशत र आधार दर ६.४४ प्रतिशत रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend