२२ साउन ,भैरहवा । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आरोपको भरमा थुनामा राखिनु अन्याय र मतदाता प्रतिको अपमान भएको बताएका छन् । बिहीबार मध्याह्न जिल्ला कारागार पुगेर लामिछानेसित भेटघाट गरेका नेसपा (नयाँ शक्ति) का अध्यक्ष भट्टराईले जनताबाट चुनिएको सांसदलाई थुनामा राख्दा मतदाताको अपमान हुने बताएका हुन् ।
पहिले कुनै जाहेरी नै नभएको अवस्थामा राजनीतिक प्रतिशोधले पूरक जाहेरी दिन लगाएर यो सरकारले पक्राउ गरेको बताउँदै उनले रविले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्नेमा जोड दिए: ‘उहाँ निर्वाचित सांसद भएकाले कतै भाग्ने भन्ने हुँदैन ,’उनले भने, ‘त्यसैले थुनामा राखिरहन आवश्यक छैन, जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन ।’
सहकारीको सदस्य समेत नरहेका रविलाई सहकारी ठगीमा संलग्न भन्दै आरोप लगाइएको तथा अहिले ऊनी भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना नरहेकाले कारागारबाहिरै बसेर मुद्दा फेस गर्न दिनुपर्ने उनको भनाइ छ । सभापति लामिछानेलाई जमानत वा अन्य तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखसँगसमेत आग्रह गरेको भट्टराईले बताए ।
अदालत प्रवेश गरिसकेको मुद्दामा केही नबोल्ने जनाउँदै उनले जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको बताए । ‘मैले विगतमा पनि राजनीतिक व्यक्तिलाई कारागारमा पुगेर भेट्ने गरेको छु,’ उनले भने, ‘टोपबहादुर रायमाझीजीलगायतलाई पनि भेटिसकेको छु । एउटा राजनीतिकर्मीले भेटघाट गर्नु स्वभाविक हो ।’
भट्टराईले भेटघाटका क्रममा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उनले बताए । ‘लामिछानेजी राजनीतिक व्यक्ति हो । मुलुकको राजनीतिबारे चासो र चिन्ता लिनु स्वाभाविक हो,’उनले भने, ‘यसबारे उहाँको चासो थियो ।’ वैकल्पिक राजनीतिक शक्तिबारे पनि भेटमा कुराकानी भएको बताए ।
रविलाई कारागारमा अत्यन्त नाजुक अवस्थामा राखिएको र पत्रपत्रिका उपलब्ध नगराएर सूचनाबाट वञ्चित गरिएको देखेर सरकारको प्रतिशोध स्पष्ट भएको भट्टराईले बताए । कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको पनि उनले बताए । ‘सूचनाबाट वञ्चित गरिएकाबारे माथिल्लो निकायमा कुरा गर्छु,’भट्टराईले भने, ‘कम से कम सूचनाबाट वञ्चित गर्न चाहिँ हुँदैनथ्यो । पत्रपत्रिका ल्याएर दिँदा पनि रहेनछन् । हामी त पञ्चायतकाल पनि पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधेँ खै त्यस्तो आदेश छैन भन्नुभयो, बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ, यहाँ त्यस्तो देखिएन ।’
( – फाइल फोटो )
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend