सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो सुरु, ५० ब्रान्डका गाडी सार्वजनिक

भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो सुरु, ५० ब्रान्डका गाडी सार्वजनिक

२२ साउन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो २०८२ भव्य रूपमा सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको यो प्रदर्शनी साउन २५ गतेसम्म सञ्चालन हुनेछ। नयाँ प्रविधिसहितका सवारीसाधन तथा विद्युतीय गाडीहरूलाई नेपाली बजारमा प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पोको पहिलो दिनमै उल्लेख्य सहभागिता देखिएको छ।

एक्स्पोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल सवारीसाधन ब्रान्डले आ–आफ्ना स्टल राखेका छन्। पहिलो दिन करिब तीन दर्जन नयाँ मोडेलका गाडीहरू सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ। त्यस्तै, केही पुराना स्टक गाडीहरूमा समेत विशेष छुट तथा आकर्षक अफरहरूको घोषणा गरिएको छ। प्रदर्शनीको पहिलो दिनमै १५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका छन्।

प्रदर्शनीमा चिनियाँ र भारतीय सवारीसाधन ब्रान्डको वर्चस्व देखिएको छ। स्टलमा राखिएका गाडीहरूको मूल्य २९ लाख रुपैयाँदेखि सवा करोड रुपैयाँसम्म रहेको जानकारी दिइएको छ। कुल ५० ब्रान्डका सवारीसाधन तथा उपकरण एक्स्पोमा समावेश गरिएका छन् भने ३५ वटा नयाँ भेरिएन्टका सवारीसाधन सार्वजनिक गरिएको छ। मोटरसाइकल र स्कुटरको हकमा १७ वटा ब्रान्ड सहभागी छन्।

चाडपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको यस एक्स्पोमा घोषणा गरिएका छुट तथा अफरहरू चाडबाड अवधिभर लागू हुने गाडी कम्पनीहरूले बताएका छन्। बढ्दो विद्युतीय सवारीसाधनको प्रयोग, विविधता र प्रविधिमा आधारित नयाँ मोडेलहरूसहितको यो एक्स्पो उपभोक्ताहरूका लागि विशेष अवसर बनेको आयोजक संस्थाले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend