सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती: बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्नेमा उर्जामन्त्री खड्काको जोड

सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती: बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्नेमा उर्जामन्त्री खड्काको जोड

२० साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले देशका दुर्गम गाउँ–बस्तीमा उज्यालो र सिंचाइको सुविधा पुऱ्याउनमा  सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्। नेपाल सौर्य विद्युत उत्पादक संघ  नेपाल ( SEMAN ) को आज मनाइएको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिँदै मन्त्री खड्काले अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने र जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै जलविद्युतसँगै सौर्य ऊर्जा पनि देशको ऊर्जा रणनीतिमा महत्वपूर्ण रहेनु पर्नेमा जोड दिएका छन् ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा मन्त्री खड्काले भने-  “सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिंचाई गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत सिंचाइको व्यवस्था गरेर संघले दिएको योगदानप्रति  म आभार प्रकट गर्न चाहन्छु ।”

मन्त्री खडकाले  विद्युतको बढ्दो आवश्यकता र माग अनुसार आपूर्तिको सम्बोधन हुन नसकेको अवस्थामा अब तीव्र गतिमा काम गर्ने बेला आएको बताए । सरकारले लिएको १० वर्षे दीगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्यको पनि उनले अपेक्षा गरे-  “हामी जलविद्युतमा जति अगाडि बढ्दैछौं, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो । जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ ।”

कार्यक्रममा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए।

त्यस्तै , संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले  सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पार्दै भने, “संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ ।”

रजत जयन्ती समारोहमा संघद्वारा प्रकाशित ‘उज्यालो यात्रा’ नामक स्मारिका विमोचन गर्नुका साथै संघका संस्थापक पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा ऊर्जा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, संघका वरिष्ठ उपाध्यक्ष, सदस्यहरू, विभिन्न सौर्य कम्पनीका प्रतिनिधि, विद्युत प्राधिकरणका पदाधिकारी, विज्ञहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सौर्य ऊर्जा प्रवर्द्धनमा योगदान पुर्‍याएका कम्पनीहरूलाई कदरपत्र प्रदान गरिएको कार्यक्रममा सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा पनि व्यापक छलफल गरिएको थियो।

विसं. २०५७ साउन २० मा स्थापना भएको यस संस्थाले विगत २५ वर्षदेखि सौर्य ऊर्जा क्षेत्रको विकास, व्यावसायिकता प्रवर्द्धन, तथा नीति संवादमा सशक्त भूमिका खेल्दै आएको छ। हाल संस्थामा १३४ कम्पनीहरू आबद्ध छन्। यसले प्रविधि विकास, तालिम सञ्चालन, र नीति निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ। संघले नेपाल  सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), नेपाल विद्युत प्राधिकरण, तथा विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै आएको छ।

२५औं वार्षिकोत्सवको अवसरमा संघले आफ्नो विगतको सफलताको पुनः स्मरण मात्र होइन, स्वच्छ र हरित नेपालको भविष्यप्रति पुनः प्रतिबद्धता व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend