सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खुम रायमाझीको सामाजिक व्यवहारप्रति राम बहादुर चौहानको कडा असन्तोष, गरिमा जोगाउन आग्रह

खुम रायमाझीको सामाजिक व्यवहारप्रति राम बहादुर चौहानको कडा असन्तोष, गरिमा जोगाउन आग्रह

 

भूमिकास्थान, अर्घाखाँची । कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीप्रति अर्घाखाँचीका राम बहादुर चौहानले सामाजिक सञ्जालमार्फत तीव्र असन्तोष व्यक्त गर्दै आफ्नो गरिमा कायम राख्न सुझाव दिएका छन् । उनले खुम रायमाझीको विगतको योगदान, बौद्धिकता र सरल स्वभावको प्रशंसा गर्दै हालै सामाजिक सञ्जालमा गरिएको व्यवहारले उनीप्रति रहेको विश्वासलाई गम्भीर क्षति पुर्‍याएको बताएका छन् ।

चौहानका अनुसार खुम रायमाझीले भूमिकास्थान नगरपालिका भित्र निर्माणाधीन मृगस्थली झरना र नारायण बहादुर घम स्मृति प्रतिष्ठानप्रति तथ्य नबुझी सामाजिक सञ्जालमा गरेका टिप्पणीहरू अशोभनीय, अकल्पनीय र समाजमा विद्वेष फैलाउने खालका थिए । उनले रायमाझीलाई सम्झाउँदै भनेका छन्, “तपाईं न नगरपालिकाको प्रतिनिधि हो, न सूचना अधिकारी, तपाईंको अभिव्यक्तिले सिंगो संस्थागत र राजनीतिक सद्भावमा आँच पुगेको छ ।”

राम बहादुर चौहानले खुम रायमाझीप्रति व्यक्तिगत सम्मान प्रकट गर्दै उनको विगतको सक्रियता र योगदानको खुलेर प्रशंसा गरे पनि हाल गरिएको टिकाटिप्पणी र राजनीतिक दलबीच वैमनस्यता फैलाउने व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले स्मरण गराएका छन् कि रायमाझी पाणिनी बहुमुखी क्याम्पसका उत्पादन हुन् र युगदर्शनका सक्रिय प्रचारक पनि । यस्तो व्यक्तित्वबाट सामाजिक सञ्जालमा तथ्यबिना गरिने आक्रमक टिप्पणीहरू अपेक्षा बाहिरको भएको चौहानको भनाइ छ ।

उनले विशेष रूपमा पत्रकार तथा सामाजिक अभियन्ता सुशील भट्टराईको प्रसङ्ग उल्लेख गर्दै, रायमाझीको टिप्पणीले न केवल व्यक्तिगत मानमर्दन गरेको, बरु बामपन्थी दलहरूबीच द्वन्द्व सिर्जना गर्ने प्रयास भएको बताए । “सुशील भट्टराईले सामाजिक सञ्जालमा योजनाको बारेमा सामान्य जिज्ञासा राख्नु भयो, नगरपालिका पक्षबाट त्यसको जवाफ दिइयो, विषय सकिएको हो । तपाईं किन यसलाई मुद्दा मामिलासम्म लैजान चाहनुहुन्छ?” चौहानको प्रश्न थियो ।

चौहानले थप आरोप लगाउँदै भने, “यहाँले सामाजिक सद्भावमा मलजल गर्नुको सट्टा आगोमा मट्टीतेल थप्ने काम गर्नुभयो । तपाईंबाट अपेक्षा थियो—विवाद मिलाउने, एकता कायम राख्ने । तर तपाईं त उल्टै झन् झगडा बढाउने, मुद्दा लगाउने चेतावनी दिने बाटोमा लाग्नुभयो ।”

सबैभन्दा दुःखद कुरा के हो भने, चौहानका अनुसार रायमाझीले नारायण बहादुर घमजस्ता बामपन्थी आन्दोलनका पुराना योद्धालाई पनि अपमानित गर्ने शब्द प्रयोग गरेका छन्, जुन पूर्णतः निन्दनीय र आपत्तिजनक भएको उनले बताएका छन् । स्मृति प्रतिष्ठानको जिम्मा वडा वा पालिकासँग भएपनि त्यसलाई राजनीतिक रंग दिई अनावश्यक विवाद सिर्जना गर्नु गलत भएको चौहानको ठम्याइ छ ।

त्यसैगरी, उनले रायमाझीले ऋणदाबी सम्बन्धी ऐन देखाएर भट्टराईलाई डराउन खोजेको उल्लेख गर्दै भने, “कानुनको धाक देखाएर साँचो बोल्नेलाई तर्साउने प्रयास गर्नु तपाईंको बौद्धिक हैसियतको अपमान हो ।”

चौहानले अन्त्यमा व्यङ्ग्य गर्दै भने, “तपाईंले आफ्नै सामाजिक सञ्जालमार्फत रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चिन्हमाथि ठट्टा गर्नु भएको छ, त्यो बेला तपाईंलाई न त ऐन सम्झनु भयो, न दफा । त्यसरी अर्कालाई तर्साउने प्रयास गर्नु दुईहरफे नीतिको उदाहरण हो ।”

उनले सुझाएका छन् कि यदि रायमाझी वा पालिकाले सुशील भट्टराईमाथि कुनै कानुनी कारबाही गर्न चाहन्छ भने तुरुन्तै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाओस्, सुशील भट्टराई त्यसको सामना गर्न तयार छन् । अन्त्यमा चौहानले खुम रायमाझीलाई व्यक्तिगत गरिमा जोगाउने र अबदेखि तथ्यमा आधारित जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेका छन् । “म तपाईंको शुभचिन्तक हुँ,” भन्दै चौहानले पत्रको अन्त्य गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend